किन पर्दैछन मुठभेडका अनुसन्धान सधै अलपत्र ?

| 2018 Aug 09 | 07:40 am 1977

काठमाडौँ, साउन २४: ११ बर्षीय निशान खड्का बालकको अपहरणपछि हत्याका आरोपी दुई युवकका परिवारले प्रहरी मुठभेडमा उनीहरू मारिएकाबारे विस्तृत अनुसन्धानको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।

मुठभेडमा मारिएको भनिएका गोपाल र अजय तामाङका परिवारले प्रहरीले फेक इन्काउन्टर गरेको आशंका गर्दै छानबिनको माग गरेका हुन् । परिवारले निवेदन दर्ता गरेपछि आयोगले यसबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले बुधबारबाटै काम थालेको आयोगका सदस्य सुदीप पाठकले जनाए ।

मुठभेडका नाममा प्रहरीबाट भएका शंकास्पद कारबाहीबारे आयोगले थालेका अनुसन्धान बीचमै अलपत्र छन् । विगतका यस्तै प्रकृतिका शंकास्पद मुठभेडका अनुसन्धान वर्षौंदेखि निष्कर्षमा पुग्न सकेका छैनन् ।

२०७१ साउनमा धादिङका दिनेश अधिकारी (चरी) प्रहरीको गोलीबाट मारिए । उनी प्रहरीले फेक इन्काउन्टरमा मारिएको भन्दै तत्कालीन एमाले सांसद राजेन्द्र पाण्डेले संसदमै दाबी गरेका थिए । चरीको गैरन्यायिक हत्या भएको दाबी गर्दै उनले तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई भेटेर अनुसन्धान गर्न माग गरेका थिए ।

परिवारले पनि आयोगमा छानबिन गर्न निवेदन दिएको थियो । २०७२ भदौमा राजधानीको सामाखुसीमा गुन्डागर्दीमा संलग्न कुमार घैंटे इन्काउन्टर मा मारिए । तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनाल नेतृत्वको टोलीले घैंटेमाथि गोली प्रहार गरेको थियो ।

घैंटेलाई पक्राउ नगरी नक्कली मुठभेडमा मारिएको भन्दै कांग्रेस नेताहरूलेनिवेदन गरेपछि त्यसबारे पनि आयोगले तत्कालै अनुसन्धान सुरु गर्‍यो । तर यी दुवै घटनाको अनुसन्धान अझै टुंगिएको छैन ।

गत वर्ष फागुन पहिलो साता रूपन्देहीमा मनोज पुन मारिए । पुन र उनका सहयोगी सोम आलेको मुठभेडमा मृत्यु भएको प्रहरीले दावी गर्‍यो । उक्त घटनामा प्रहरीले १२ राउन्ड गोली हानेको थियो । मनोजले एक राउन्ड फायर गरेको प्रहरीले बताएको थियो ।

असोज २३ मा काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यापछि फरार रहेर चन्दा आतंक मच्चाइरहेका पुन प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए । यो घटनालाई पनि धेरैले प्रहरीको फेक इन्काउन्टर भने पनि त्यसबारे विस्तृत छानबिन नै गरिएन । नेपाल मगर संघले विज्ञप्ति जारी गरी मनोज र सोम मारिएकोबारे अनुसन्धान माग गरेको थियो ।

आयोग आफैंले पनि घटनाबारे अनुसन्धान हुनुपर्ने बताएको थियो । तर त्यसबारे अनुसन्धान नै नभएको संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले बताए । घैंटे र चरीबारे अनुसन्धान अगाडि बढाए पनि नटुंगिएको आयोग सदस्य पाठकले बताए । केही मान्छेसँग बयान लिनुपर्ने देखिएको थियो तर भेट्नै सकिएन उनले भने ।

घैंटेको अनुसन्धानमा आयोगले गोली कुन दिशाबाट र कति दूरीबाट प्रहार गरिएको थियो भन्नेजस्ता प्रश्नको उत्तर खोज्न ब्यालेस्टिक विज्ञ खोजी गरेको थियो । तर त्यस्ता विज्ञ नै भेटिएनन् । एक जना पूर्वएसपी छन् भन्ने सुनिएको थियो तर विदेशमा रहेछन् । दुई डीएसपी पनि सम्पर्कमा आएनन् ।

मानव अधिकारकर्मी कृष्ण पहाडीले पछिल्लो मुठभेड शंकास्पद देखिएको उल्लेख गर्दै यस्ता घटनामा मानव अधिकार आयोग बोल्न नसकेको बताए । यस्तो अभ्यासबाट दण्डहीनता बढछ उनले भने ।

जस्तोसुकै व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनैपर्छ । सम्भाव्य गैरन्यायिक हत्यामाथि कि प्रहरी आफैंले सत्यतथ्य जाँच गर्नुपर्छ होइन भने सरकारले अनुसन्धान गरेर दोषीमाथी कारबाही गर्नुपर्छ । कान्तिपुरमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.