किन पक्राउ परेनन् ‘बलात्‍कारी’ र ‘हत्यारा’ ?

| 2018 Sep 13 | 07:42 am 1388

फाइल तस्बिर

काठमाडौं, भदौ २८: मुलुकमा बलात्‍कार र हत्या हिंसाको शृंखला दिनहुँजसो बढ्दै छ। हत्यारा पत्ता लाग्ने र दोषीले सजाय पाउने भन्दा पनि हत्यारा नै पत्ता नलाग्‍ने स्थिति पैदा हुँदा प्रहरी अनुसन्धान फितलो हुँदै गएको टिप्पणी हुन थालेको छ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तदेखि पूर्वराजदूत केशव झाको हत्यारा खोज्‍ने काम जारी छ। तर प्रहरीले भेटेको छैन। भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भयो । यस्तै फ्रान्सका लागि पूर्व नेपाली राजदूत ८० वर्षीय झाको मृत्यु आत्महत्या नभई हत्या नै भएको प्रहरीले दाबी गर्दै आएको छ । उनको ३ भदौ राति आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको थियो । उनको हत्याराका विषयमा पनि प्रहरी अनुसन्धानमा नै रहेको बताउँदै आएको छ ।

यस्तै २१ भदौमा राजधानीको स्वयम्भूमा आफ्नै कारभित्र मृत भेटिएका श्यामकुमार श्रेष्ठको मृत्यु पनि अनुसन्धानकै दायरामा रहेको प्रहरीले बताउँदै आएको छ। महानगरीय अपराध महाशाखा प्रमुख धीरजप्रताप सिंहले झा हत्याका विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए । यस्तै श्रेष्ठको मृत्युका विषयमा पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको सिंहले जानकारी दिए । उनको मृत्यु विष सेवनबाट भएको आशंका मात्र प्रहरीसँग छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत सौरभ उप्रेतीको मृत्युसमेत शंकाको घेरामा छ। उनको १६ साउनमा मृत्यु भएको थियो । हालसम्म पनि सौरभको मृत्युको कारण पत्ता लाग्न सकेको छैन। तर उनको परिवारले भने सौरभको मृत्यु शंकास्पद रहेको भन्दै छानबिन गर्न प्रहरीलाई दबाब दिँदै आएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले जटिल प्रकृतिका अनुसन्धानका लागि समय लाग्ने भएकाले घटनाको प्रकृतिअनुसार प्रहरी अनुसन्धान अघि बढिरहेको बताए । ‘जटिल प्रकृतिका घटना भएकाले समय लागेको हो, अभियुक्तलाई ढिलो चाँडो पक्राउ गरिन्छ,’ केन्द्रीय प्रहरी प्रवक्ता थापाले भने ।

न त गंगामायाका छोराको हत्यारा पत्ता लाग्‍न सकेको छ न त दमौलीमा बलात्कृत ८० वर्षीया वृद्धको दोषीलार्इ प्रहरीले समाउन सकेको छ। तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छिन्। २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा परेकी उनले हालसम्म पनि न्याय पाएकी छैनन्। आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उनले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन।

अनुसन्धानका सधैं अगाडी भनेर विश्‍वसामु चिनिएको नेपाल प्रहरी किन यसरी अपराधीलार्इ समात्‍न सकिरहेको छैन भन्‍ने प्रश्‍न उठेको छ। कहीं यि र यस्ता केही घटनामा प्रहरीकै संलग्‍नता भएर अनुसन्धान फितलो भएको हो या राजनीतिक समूहको दबाब बढेको हो।

यस्ता जघन्य अपराधमा कसैले पनि उम्किन दिनुहुदैन। अपराधीले कानुनी कारबाही भोग्‍नैपर्ने हुन्छ।

उनले कञ्‍चनपुरको घटनाका सन्दर्भमा भने पक्राउ गरिएका व्यक्तिको डीएनए परीक्षणको नतिजा नमिल्नुले अनुसन्धानमाथि शंका उब्जाएको स्वीकार गरे। प्रवक्ता थापाले अबको अनुसन्धान आन्तरिक रूपमा कञ्चनपुर घटनामा संलग्न प्रहरीतर्फ नै केन्द्रित हुने बताए ।

‘अबको अनुसन्धान आन्तरिक रूपमा कञ्चनपुर घटनामा जोडिएका प्रहरीतर्फ नै अघि बढ्छ,’ उनले भने । घटनाका बखत कञ्चनपुर प्रहरी प्रमुख रहेका एसपी डिल्लीराज विष्ट निलम्बनमा परिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.