काठमाडौं, चैत्र २२ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं हेड अफ एनसिवी सम्मेलनमा सहभागी हुन फ्रान्सको लियोन प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एनसिवी नेपालका प्रमुख समेत रहेका महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म हुने सम्मेलनमा भाग लिन फ्रान्स लागेका हुन् । महानिरीक्षक खनालको अनुपस्थितिमा अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले कार्यभार संहाल्ने जनाइएको छ ।
प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । महानिरीक्षक खनालसँगै धर्मपत्नी प्रमिला खनाल पनि फ्रान्स गएको बुझिएको छ । सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट एनसिवीहरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन सहयोग पुग्ने आशा गरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा पनि उक्त कार्यक्रममा छलफल हुने जनाइएको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा हरेक वर्ष सम्मेलन हुने गरेको छ । यस वर्षको उक्त सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको बुझिएको छ ।