काठमाडाैं, माघ ८ः भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भ्याक्सिन लिएर एयर इन्डिया काठमाडौं आइपुग्नेकाे छ । भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएकाे हाे ।
दिल्लीबाट उडेकाे एयर इन्डियाकाे जहाज करिब पाउने १२ बजे काठमाडाैं आइपुगेकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।
खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राथमिकताका आधारमा खोप उपलब्ध हुने जानकारी दिए ।
गौतमका अनुसार स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइनेछ । यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने उनले बताए। यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको छ ।