कञ्चनपुर, भदौ २७ : बुधवार देशैभर हरितालिका तीजको रौनक छ। महिलाहरु रातो पहिरन, चुरा र पोतेमा सजिएर धुमधामका साथ रमाइलो गरेर तीज मनाइरहेका छन् । तर कञ्चनपुरका महिलाहरु भने कालो पहिरनका साथ विरोधमा उत्रेका छन् ।
झण्डै डेढ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरु कालो पहिरनमा उत्रेका हुन्। लामो समयदेखि संघर्ष समिति न्यायका लागि सडक आन्दोलमा छ।
ब्रत बसेर श्रीमान र घरपरिवारको सुख, शान्तिको कामना गर्ने दिन निर्मलाको न्यायका लागि कालो पहिरनमा बसेर आन्दोलन गरिरहेको उनीहरुको भनाइ छ।

महिलादिदी बहिनीले बुधबार कालो पहिरनमा मदन चोकमा एकघण्टा धर्ना दिए भने बजार क्षेत्रमा प्रदर्शन समेत गरे। ‘आज रातो पहिरनमा सजिएर तीज मनाउनुपर्ने हो’ आन्दोलनका क्रममा घाइते भएकी मञ्जु गिरीले भनिन्, ‘यस्तो अत्याचार भएका बेला तीज कसरी मनाउने।’ उनले निर्मलाका हत्यारा सार्वजनिक गरिनुपर्ने माग गर्दै कालो पहिरनमा विरोध जनाएको बताइन्।
निर्मला पन्तका हत्यारालाई सार्वजनिक र संविधानमै बलात्कारीलाई फाँसीको सजाय दिन संविधान संशोधन गर्नुपर्ने माग उनीहरुको छ। निर्मलाको बलात्कार पछि हत्या गर्ने वास्तविक अपराधी पत्ता नलागुन्जेल दबाबमुलक कार्यक्रम जारी नै रहने उनीहरुको भनाई छ।
महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारण चोकमा भेला भएर तीजलाई कालोदिनका रुपमा मनाइरहेका हुन। महिलाको आन्दोलनमा पुरुष समेत कालो पहिरनमा सहभागी भएका छन्। यसअघि महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रुपमा मनाइएको थियो।