कालीगण्डकी करिडोरको चट्टानसँग रमाएका कर्णेल भट्टराई

रिपोर्ट नेपाल | 2019 Aug 08 | 02:23 pm 6695

  • महेन्द्र पाण्डे

विष्णु भगवानको अवतारको रुपमा मानिने भगवान शालिग्राम पाइने एकमात्र कालीगण्डकी नदी किनारमा २०७० साल बैशाख २० गते देखि निर्माण कार्य शुरु भएको कालीगण्डकी करिडोरको निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।

ठूलाठूला चट्टान भएको यो करिडोर सर्भे गर्ने समयमा गुल्मीको रिडी देखि बाग्लुङको मालढुङ्गा सम्म ९० किलोमिटर तय गरिएको थियो । सर्भे गर्ने क्रममै ठूला ठूला चट्टान बाहेक माटो अति नै कम भएको यो करिडोर निर्माण सम्पन्न हुने कुरामा केन्द्रीय स्तरमा निकै चर्चा परिचर्चा नभएका होइनन् ।

नेपाली निर्माण व्यवसायीले साधारण चट्टान र धेरै माटो भएको ठाँउमा निर्माण गर्दा पनि दिएको दिक्दारीले सरकार विकल्पको खोजिमा हुनु स्वभावीक पनि थियो । सरकारको त्यो वेलाको शंका अहिले काठमाडौं भ्यालीकै बाटो निर्माणमा निजी क्षेत्रका व्यवसायीको सुस्तता र कालिगण्डकी करिडोर जहाँ चट्टान नै चट्टानको पहाड फुटाएर सडक बनाइएको छ यसलाई हेर्दा तत्कालिन सरकारले पारदर्शी निर्णय गरेर यो करिडोर नेपाली सेनालाई दिएकोमा प्रशंसनीय काम भएको देखिन्छ ।

यो पंक्तिकार पनि कालीगण्डकी करिडोरसँग जोडिएकै नभए पनि त्यही सेरोफेरोमा हुर्के बढेकोले यसरी वास्ताविकतामा डुबुल्की मार्न खोज्नु स्वभाविक हो । देशभरका अहिलेको बाटो निर्माणको प्रकृयालाई हेर्दा यथार्थमा भन्ने हो भने यो निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्छ भन्ने तत्कालिन सरकार र जनताको भौतिक सुविधाका लागि सेनाको पनि कर्तव्य महसुस गरी निर्माण गर्ने अठोट लिने तत्कालिन नेपाली सेनाका प्रधानसेनापती लगायत निर्णयकर्ता सबै अधिकृतलाई गुल्मेली र बाग्लुङ्गेले सलाम ठोक्नुपर्छ भन्ने मेरो मान्यता छ । तत्कालिन नेपाली सेनाको नेतृत्वले कालिगण्डकी करिडोरको जिम्मा लिएपछि निर्माण कार्यमा खटाउने कमाण्डरको विषयमा बहस गर्दा गुल्मी नै घर भएका कर्णेल रेश्मीराज भट्टराईलाई खटाउने निर्णयमा पुग्यो ।

भट्टराईलाई पठाउदा स्थानिय भएकाले दुई तर्फी कर्तव्यबोध हुने, वाद विवाद भएका ठाँउमा मिलाउन सक्ने र आवश्यक परे कमाण्डिङ पनि गर्न सक्ने कुराहरुको विश्लेषण गरी भट्टराईलाई खटाइयो । २०७० सालदेखि हर्मिचौरको कालिगण्डकी ड्यामको किनारमा शिविर खडा गरेर शुरुमा रुद्रवेणीबाट ट्रयाक खोल्ने काम भएको थियो ।

कर्णेल रेश्मीराज भट्टराई जत्तिको सबैसँग मिल्न सक्ने र सबैलाई प्रभावमा पार्न सक्ने व्यक्तिले नेतृत्व गरेकै कारण कालीगण्डकी करिडोरले अहिलेको अवस्था पाएको भन्न हिचकिचाउनु पर्दैन । उनको नेतृत्वले कालिगण्डकी करिडोर सफलतापूर्वक निर्माण मात्र गरेको छैन कि निर्माणका लागि राखिएको बेस क्याम्प (शिविर)ले कालीगण्डकी जलविद्युतको ड्याम साइडको सुरक्षालाई समेत अप्रत्यक्ष सहयोग पुगेको छ ।

गत हप्ता गुल्मीको सत्यवती गाँउपालिकाको ठूलो लुम्पेक र लिम्घामा गएको भिषण पहिरोका कारण जन, धनको क्षती भएपछि आफ्नो संस्थाको पनि सामाजिक दायित्व महसुस गरी रिपोर्ट नेपाल डटकमको टिम त्यही करिडोर हुँदै गएको थियो । संचालक बसन्त बहादुर
भुजेल, निर्देशक कृष्णप्रसाद सापकोटा र शुभचिन्तक पवन वानियाको टोली सहित यो पङ्तिकार पनि पुगेको थियो । सवारमध्येका बसन्त भुजेल ब्रिटिस सेनाका इन्जिनियर भएकोले उनको नजर सडकमा पुग्नु स्वभाविक थियो ।

उनले कुनै समय पैदल हिड्दा डराउनुपर्ने साँघुरे आज वर्षायाममा पनि यस्तो सहज भन्दै बाटोको विषयमा जिज्ञासु बनेका थिए । यो पङ्तिकारले सडकका विषयमा बेलीविस्तार लगाएपछि उनले स्यावास बाटो निर्माणका कमाण्डर भनेका थिए । इमान्दार र इच्छा शक्ति भएको कमाण्डर भएन भने यस्ता चट्टान फोर्न कठिन हुने उनले बताए । आफै अपाङ्ग रहेका भुजेलले कर्णेल भट्टराईसँग भेट्ने इच्छा राख्दा वर्षातका कारण बाटो विग्रिएको बताएपछि कुनै दिन जानै पर्छ भन्दै यो पङ्तिकारलाई लेख्न हौसाएका हुन ।

सर्भे गर्दा ९० कि.मि. बनाइएको सडकका धेरै मोडलाई काटेर सिधा बनाएर १० किमी कम बनाइएको छ । अहोरात्र सडककै विषयमा सोच्ने कर्णेल भट्टराई त्यस भेगमा लोकप्रिय बन्न सफल भएका छन । त्यस भेगका जनताले उनको रुप हेरेर नभएर उनी अहोरात्र सडकमै भेटिने, पहरामा कुदने , सबै अवलोकन आफै गर्ने भएका कारणले प्रिय भएका हुन ।

सडक नभई पनि नहुने आफ्नो एक वित्ता जग्गा पनि जान नहुने सोच राख्नेका आँखामा भने केहि दिन उनी कसिंगर पनि बने । जागिरे जीवनबाट सेवा निवृत्त भएर पनि स्थानीय जनताको माग र नेपाली सेना मुख्यालयको मूल्याङ्कनले उनी त्यही प्रोज्जेक्टमा सकृय छन । सरकारबाट प्रर्याप्त बजेट समयमै हुने हो भने भट्टराई कमाण्डर भएको टिमले २०७८ सम्म निर्माण सम्पन्न गर्ने स्थानीयबासी बताउछन् ।

चट्टान फूटाउने क्रममा विष्फोटन गराउँदा केहि टाठा बाठा भनाउदाले मानव अधिकारको कुरा उठाउदा लाखौंको यात्रा गर्ने र माल ढुवानी गर्ने अधिकार स्थापित गर्दा दुइचार जनाको हनन भए ठिक छ भन्दै आफ्नो काममा अडिग रहने भट्टराइका कारण सडक निर्माण संभव भएको स्थानीय जनप्रतिनिधि बताउँछन ।

कालीगण्डकी गाँउपालिका अध्यक्ष वेदबहादुर थापा मगरले कर्णेल रेश्मीराज भट्टराईज्यूको अनगिन्ती गुण भएको बताउँछन । सडक निर्माणकै क्रममा विवाद हुँदा कसैले मिलाउन नसकेपछि जादुमय तरिकाले समाधान निकाल्ने गरेको वेद मगर बताउँछन । अध्यक्ष थापाले कर्णेल भट्टराइको मुक्तकण्ठले प्रशंसा गर्दै सायद उहाँ नभएको भए यति छिटो समयमा सडक निर्माण संभावना थिएन ।

उहाँ सडकमा मात्रै सकृय होइनकी साधन स्रोत जुटाउन पनि त्यतीकै सकृय मान्छे हो । हरेक चिजको महत्व उसको अभावमा खड्किन्छ भनिए झै अहिले उहाँ प्रति नकरात्मक हुनेहरु पनि भोली सबै यहि छोडेर फर्किएर गएपछि बल्ल त्यस्ता बुज्रुकले सम्झने अध्यक्ष मगरको भनाई रहेको छ । यो सडक समयमै निर्माण भएपछि अर्वेनी, हर्मिचौरका किसानले उत्पादन गर्ने सामानले उचित मुल्य पाउने पनि अध्यक्ष मगरको भनाई छ ।

पूर्तिघाट, पर्वतको बाच्छा व्यादी लगायतका कृषकले जाँगर गर्नुपर्यो अव उनीहरुको घर–घरमा पैसा भित्रिन्छ । वर्षातका कारण र ठूलो लुम्पेकको पहिरोको कारण ७० मिटर जति सडकलाई क्षती भएपछि कसरी खुलाएर जनतालाई सेवा दिने भन्ने चिन्तामा यतिखेर उनी लागी परेका छन् । गुल्मीको पुर्कोट एरियामा जन्मिएर नेपाली सेनामा प्रवेश गरेका भट्टराईले जागिरे जीवनको उत्तरार्धमा जन्मभूमीको सेवा गरेका छन यसका लागि यो पङ्तिकार पूनः स्यालुट गर्न चाहान्छ ।

जन्मेपछि मृत्यु अवश्य हुन्छ । कतिपय मान्छे बाँचेर पनि मरेतुल्य हुन्छन भने भट्टराई भोली मृत्यूवरण पछि पनि यो भेगका जनताको
मन मष्तिश्कमा जिवित र अमर रहने छन । उनी र उनका सबै सहयात्रीलाई ति पहाडी चट्टानमा झुण्डिएर गरेको योगदानको सम्मान गर्नुपर्छ । कर्तव्य इमान्दारीताका साथ गर्नु नै आजको सहि कार्य हो । कर्णेल रेश्मीराज भट्टराइको टिमले गरेको इमान्दारीतालाई हामिले भन्ने पर्छ यस्ता पो राष्ट्र सेवक, यस्ता पो सिपाही ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.