कालिमाटी बजार बन्द गरेर आन्दोलनमा व्यापारी, अनुगमनको विरोध

| 2018 Aug 21 | 10:32 am 2687

काठमाडौं, भदौ ५: कालिमाटी तरकारी तथा फलफूल बजार बन्‍द गरेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।

सोमबार अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा मंगलबार बिहान व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दुवै जनालार्इ निशर्त रिहाइको माग गरेका छन्।

सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए। उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ। पक्राउ गरिएका व्यावसायीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

विवाद बारे बुझ्न सोमबार दिउँसो नै आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएका थिए। त्यहाँ पुगेर मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकारले कडाइका साथ अनुगमन गर्ने बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.