कालिकोटमा बढ्दै कालाजारका बिरामी

| 2022 Mar 05 | 08:11 am 1721

कालिकाेट, फागुन २१ः तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।

कालिकोटमा हरेक वर्ष कालाजारका बिरामी बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयको तथ्यांकले देखाउँछ। पलातार पचालझरना गाउँपालिकामा साथै रास्कोट र खाँडाचक्र नगरपालिकाभित्र कालाजारका बिरामी धेरै फेला परेका छन्।

कार्यालयको तथ्यांकअनुसार कालाजार बालबालिकामा धेरै देखिएको छ। चालु आर्थिक वर्षको हालसम्म कालिकोटमा कालाजारका १६ बिरामी फेला परेका छन्। तीमध्ये नौजना पाँच वर्षमुनिका छन्। कालिकोटमा तीन वर्षयता क्रमशः कालाजारका बिरामी बढ्दै गएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख रत्नवीर सुनारले बताए।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा कालिकोटमा कालाजारका सात बिरामी फेला परेका थिए। पछिल्लो वर्ष २०७६/७७ मा कालाजारका बिरामीको संख्या २६ पुग्यो। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ४३ जनामा कालाजार देखियो। चालू आर्थिक वर्षको हालसम्म १६ जना कालाजारका बिरामी फेला परेका छन्।

कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले कालिकोटमा हरेक वर्ष कालाजारका बिरामी बढ्दै गएको बताए। ‘हामीसँग भएको तथ्यांक गम्भीर भएर अस्पतालमा आउनेको मात्रै हो,’ उनले भने, ‘गाउँगाउँमा कालाजारका बिरामीहरूको संख्या धेरै हुन सक्छ।’ अघिल्लो आर्थिक वर्ष सुर्खेत रेफर गरिएका एकजनाको कालाजारका कारण मृत्यु भएको थियो। ज्वरो आउने, अनुहार कालो हुँदै जाने, पेट फुल्ने, तौल घट्दै जाने, फियो बढ्ने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा आएर परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.