कालापानी लिम्पियाधुरानजिकै सशस्त्र प्रहरी बलको व्यारेक राख्ने

| 2020 May 12 | 07:59 am 1324

काठमाडाैं, बैशाख ३०ः सरकारले व्यापक सरोकार र चर्चाको विषय बनेको दार्चुलाको कालापानी लिम्पियाधुरानजिकै व्यारेक रहने गरी सशस्त्र प्रहरी बलको एउटा टुकडी दार्चुलाको छाङग्रुमा राख्ने भएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा खटिने सो टोलीलाई भारतीय सीमाभन्दा एक किलो मिटर पूर्व नेपाली भूमिमा राख्न लागिएको हो ।

भारतले नेपालको अनुमति नै नलिएर नेपाली भूभाग प्रयोग गरेर चीनसंँग सडक सन्जाल जोडेपछि नेपालमा भारतबिरोधी स्वरहरु तीव्र भएको र जनस्तरमा प्रदर्शनसमेत सुरु भएको बेला सुरक्षा व्यवस्थालाई कायम राख्न सशस्त्र प्रहरी बल त्यहाँ तैनाथ गरिएको हो ।

भारतले एक पक्षीय रुपमा सडक बनाएको विषयमा नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसंँग वार्ता गर्ने तयारीमा सरकार रहेको उद्घोष गरेपनि भारत सरकारले खासै रुचि नदेखाएका कारण देशव्यापी रुपमा प्रदर्शन चर्किरहेको छ ।

नेपालका विभिन्न राजनीतिक दल तथा संघ–संस्थाले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विवादलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने माग गरिरहेका छन् ।

नेपाली कांग्रेसले भारत र चीन दुवै देशसँंग वार्ता गरेर यो समस्याकोे समाधान गर्न नेपाल सरकारसंँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो राष्ट्रियतासंँग गाँसिएको विषय भएकाले तत्कालै सरकारले दुवैदेशसँंग कूटनीतिक पहल गरेर समस्याको समाधान खोज्न सरकारसंँग माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले उक्त मुद्दालाई संयुक्त राष्ट्र संघमा लैजानुपर्ने बताएका छन् भने यस्तै धारणा अन्य क्षेत्रबाट पनि प्रकट भएको छ ।

सरकारले गएको मंसिर महिनामा नै उत्तरी सीमा क्षेत्रका सात स्थान र भारतीय सीमा क्षेत्रमा एक सय सातवटा बोर्डर आउटपोष्ट राख्ने निर्णय गरेकाले अहिले त्यसलाई सशस्त्र प्रहरी बलले निरन्तरता दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रवीणश्रेष्ठले जानकारी दिए ।

उनले दार्चुलाको छाङग्रुमा बिओपी स्थापना गर्न लागेको जानकारी दिदै भने अहिले त्यहांँ लैजाने टोलीको तयारी भइरहेको छ,तर तत्कालै आफ्नो भवन बनाउन सम्भव नभएकाले त्यहाँं घरभाडामा लिने र अन्य बन्दोबस्तीका सामान तयारी गरेको जानकारी दिए । छाङग्रुमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान खटाइने भएको छ ।

डिआईजी श्रेष्ठले भने– यसअघि उत्तरी सीमा क्षेत्र किमाथाङ्कामा बिओपी स्थापना भएको र त्यसपछि अन्य क्षेत्र हिल्सा, कोरोला, ओलाङचुङगोलामा पनि फौज तैनाथ गर्ने विषयमा तयारी तीव्र भएको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.