कालापानी क्षेत्रमा नियमित गस्ती गर्दै सशस्त्र प्रहरी बल

| 2020 Jun 16 | 07:34 am 1754

काठमाडाैं, असार २ः सीमाको सुरक्षामा नियमित गस्ती गर्दै आएको सशस्त्र प्रहरी बलले अहिले कालापानी क्षेत्रमा नियमित गस्ती गर्दै आएको छ । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र कालापानीमा सशस्त्र प्रहरी बलले नियमित गस्तीलाई तीव्रता दिएको छ ।

सामरिक हिसावले महत्वपूर्ण मानिएको कालापानी क्षेत्रको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएपछि अहिले कालापानीको सेतो पुलसम्म नियमित गस्ती गरेर फर्कने गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । छाङरुबाट कालापानी १४ किलोमिटर टाढा रहेको कालापानी क्षेत्रसम्म गस्ती गर्ने गरेको बताइएको छ ।

दार्चुला सदरमुकाम खलंगाबाट छाङरु करिब ८० किमि र छाङरुबाट गुञ्जी दोभान १० किमिको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किमि टाढा छ । कालापानीबाट लिम्पुयाधुरा पुग्न सडक बाटो नभएकाले हिँडेर जान १० घन्टासम्म लाग्ने गरेको छ ।

सरकारले भारतीय अतिक्रमणमा परेको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेतको भूमिलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ । सो नक्सालाई समेटेर बनाइएको निशान छापलाई प्रतिनिधिसभाको गत जेठ ३१ गतेको बैठकले नेपालको संविधानको अनुसूचीमा संशोधनको विधेयकलाई सर्वसम्मतरूपमा पारित गरेको छ ।

सो क्षेत्रमा भारतीय सुरक्षाफौज बसिरहेको तथा लिपुलेक र लिम्पुयाधुरा क्षेत्रमा यातायात सहज नभएकाले सरकारले क्रमशः राज्यको उपस्थिति बढाउन थालेको हो । नेपाल र भारतबीचको सुगौली सन्धिबमोजिम काली नदीदेखि पूर्वतर्फ नेपाल हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले छाङरुमा बीओपी सञ्चालनमा आएपछि त्यहाँका जनता खुसी भएको, उनीहरूले सुरक्षित महसुस गरेको र दार्चुला सदरमुकाम बस्दै आएका मानिसहरू गाउँ फर्कन थालेको बताउनुभयो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.