कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने

रिपोर्ट नेपाल | 2019 Sep 09 | 07:57 am 1673

काठमाडौं, भदाै २३: सरकारले कार्यालय समयभित्र कर्मचारी सम्बद्ध ट्रेड युनियनले कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने भएको छ । कार्यालय समयमै विभिन्न गतिविधि गर्दा सेवाप्रवाहमा गम्भीर असर परेको विश्लेषण गर्दै कार्यालय समयभित्र कुनै पनि गतिविधि गर्न नपाउने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तावित निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए पनि ट्रेड युनियनले कार्यालय समयमा कुनै पनि गतिविधि गर्न नपाउने थप व्यवस्था गरिने बताए ।

ट्रेड युनियन रहन्छ तर सबै युनियनलाई कार्यालय समयमा सबै प्रकारका कार्यक्रम गर्न पूर्णतय निषेध गरिन्छ, निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पण्डितले भने ।

मन्त्री पण्डितले ट्रेड युनियनलाई सरुवा बढुवाजस्ता विषयमा ध्यान नदिन चेतावनी दिँदै जनताको काममा सरिक भएर लाग्न आग्रह गरे ।

ट्रेड युनियनको काम कर्मचारीको सरुवा बढुवामा हस्तक्षेप गर्ने होइन । त्यो सरकारका लागि सह्य हुँदैन, मन्त्री पण्डितले भने, ट्रेड युनियनहरू प्रशासन सुधार, सेवा प्रवाह प्रभावकारी बनाउनेलगायतका नीतिगत विषयमा आवश्यक सुझाव लिएर सरकारसमक्ष आएमा जुनसुकै समयमा पनि ढोका खुला हुनेछ ।

मन्त्री पण्डितले कर्मचारीबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन नै ट्रेड युनियनलाई कानुनी रूपमै अनुशासित बनाउन लागिएको जानकारी दिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले प्रस्ताव गरी राज्यव्यवस्था समितिमा अन्तिम अवस्थामा रहेको संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था गरिए नि आचारसंहितामार्फत ट्रेड युनियनलाई कडाइ गर्न लागिएको हो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.