कारबाहीका लागि प्रदेश तानिएका महतो घुमुवाको कमाण्डर

| 2020 Oct 13 | 05:00 pm 2585

धनुषा, असोज २७ः हिरासतमा एक युवकको यातनाबाट मृत्यु भइपछि कारबाहीका लागि प्रदेशमा तानिएका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोलाई पुरस्कृत गरिएको छ ।

मृतक विजय महराको परिवारले तत्कालिन इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत महतोलाई निलम्बन गर्नुपर्ने माग राखिरहेको बेला प्रदेश कार्यालयले भने उनलाई घुमुवाको कमाण्डर बनाएको छ ।

हिरासतमा चरम यातना दिएर अस्पतालमा मृत्यु भएका विजय महराको परिवारले लास बुझ्न मानेकै छैन ।

हिरासतमा महराको मृत्यु भएपछि प्रहरी निरीक्षक नविन सिंह, हवल्दार मुना सिंह, धिरोज धनियाँ निलम्बनमा परे पनि इलाका प्रहरी कार्यालयका इन्चार्ज ज्ञानकुमार महतोलाई भने केही गरिएको छैन ।

इन्चार्जलाई जोगाएर जिल्लाबाट गएका प्रहरीलाई मात्रै कारबाही गरिनु अन्याय पूर्ण कार्य हो ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा इन्चार्ज खोसेर कारबाहीका लागि प्रदेश खटाइएका महतोलाई सूचना संकलन गर्ने निकायको जिम्मेवारी दिनुका पछाडी के हो बुझ्न सकिएको छैन ।

महतोले घुमुवाको कमाण्ड सम्हालेपछि आइजीपीले लखेटेका पुराना घुमुवा यतिखेर फेरि महतोकै कमाण्डमा सादा पोशाकमा काम गरिरहेका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार आइजीपी शैलेस थापाको निर्देशनमा विपद् व्यवस्थापन वीरगंजमा लखेटिएका प्रहरी नायब निरीक्षक सन्तोष झा, दंगा प्रहरी बर्दिबास लखेटिएका प्रहरी नायब निरीक्षक त्रिभुवन साह, विपद् व्यवस्थापन वीरगंज लखेटिएका हवल्दार श्याम सुन्दर साह, हवल्दार राजमंगल सिंह र अर्का हवल्दार बैजु यादव पुन सादा पोशाकमा नाकामा घुम्न थालेका छन् ।

दश जना घुमुवाको कमाण्ड गरेका महतोले यि घुमुवाहरुलाई अहिले सर्लाहीका नाका नाकामा खटाएर मालपानी उठाइरहेका छन् ।

आइजीपीले लखेटेका घुमुवालाई कस्को आदेशले केका लागि फेरि घुमुवा बनाइयो बुझ्न सकिएको छैन । सर्लाहीको इलाका प्रहरी कार्यालय गडहिया डुमरिया इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठसँग यो समुहको उठबस हुने गरेको छ ।

यताबाट मटर छोकडा पठाएर भारतबाट कपडा भित्र्याउने शिवपुजन राय यादव, बिहारी यादव, विजय यादव लगायतका व्यापारीसँग प्रदेशका घुमुवा प्रहरी नायब निरीक्षक त्रिभुवन साह र सन्तोष झा लगायतको टोलीले भेट्ने गरेको पनि समाचार स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.