कारबाही गर्ने गृहमन्‍त्रीको गर्जन तर सांसद ‘ठेकेदार’ लार्इ उन्मुक्ति

| 2018 Jun 05 | 11:42 am 6318

नेपालगञ्‍ज, जेठ २२ : गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा स्थानीय प्रशासनले काम नगर्ने केही ठेकेदारलाई पक्राउ गरिरहेका बेला सांसद नै मालिक रहेका ठेकेदार कम्पनीहरुले भने उन्मुक्ति पाएका छन् ।

ठेक्का लिएको डेढ वर्षसम्म पनि ५ प्रतिशत काम नगर्ने ठेकेदारलार्इ पनि कसैले कारबाही गर्न सकेको छैन । बाँकेको नौबास्तामा खुला कारागार निर्माण र मुलुककै गौरव मानिएको सिक्टा सिँचाइ आयोजनाको डुडवा नहर ठेक्का पाएको निर्माण कम्पनीका ठेकेदार हरिनारायणप्रसाद रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत हुन् ।

उनले नौबास्तामा खुला कारागार निर्माणका लागि भ्याटबाहेक ३९ करोड रुपैयाँमा ठेक्का लिएका थिए। त्यस्तै डुडवा नहर निर्माणका लागि ९८ करोड ८१ लाखमा ठेक्का सकार गरे। तर, कारागार निर्माणका लागि ठेक्का लिएको १७ महिनासम्म ५ प्रतिशत पनि काम भएको छैन। सहरी विकास तथा भवन डिभिजन कार्यालयले उक्त ठेक्का दिएको हो।

ठेकेदारले बैंक ग्यारेन्टी राखे बराबरको २० प्रतिशत अर्थात् ७ करोड रुपैयाँ काम सुरु गर्न पहिलो किस्ता बुझिसकेका छन्। डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले १७ महिनामा निकै कम प्रतिशत काम भएको बताए। ‘कामको प्रगति बढाउन पटक–पटक पत्राचार गरिरहेका छौं । तर, गति लिएको छैन,’ उनले भने, ‘कहिले सिमेन्ट नभएको कहिले के नभएको भन्दै ठेकेदारले ढिलाइ गरिरहेका छन् ।’ ठेक्काको अवधि अझै १७ महिना बाँकी रहेका कारण कारबाही गर्न समस्या भइरहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.