काठमाडौं, साउन २१: शैक्षिक प्रमाणपत्रमा त्रुटी भएको भन्दै प्रधानन्यायाधीस पदबाट बाहिरिएका तत्कालिन प्रधानन्यायाधीस गोपाल पराजुली र कायममुकायम प्रधानन्यायाधीस दिपक राज जोशीको घटना सेलाउन नपाउँदै रिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्रको विवाद देखिएको छ। मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत रहेको पुष्टि भएको छ।
यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ। उनले इन्टरमिडिएट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तिर्ण गरेका छन्। मिश्रले हाइस्कुल परीक्षा भारतको नवतनवाँ इन्टर कालेज, नवतनवाँ (गोरखपुर) बाट १९६३ मा र इन्टरमीडिएट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेशबाट १९७१ मा उत्तिर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ।
मिश्रले हाई स्कुल परीक्षामा कुल पाँच सय पूर्णाङकमा हिन्दी बिषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक प्राप्त गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ। सबै बिषय बिषयगत आधारमा कुल एक सय पूर्णाङकका हुन्।

उनले हाइस्कुल परीक्षामा कुल पाँच सय अंकमध्ये दुई सय पाँच अंक प्राप्त गरेका छन् । जुन प्रतिशतको आधारमा ४१ हुन आउँछ। हाइस्कुल परीक्षाको प्रमाणपत्रमा रोलक्रम संख्या २१३ र उत्तिर्ण श्रेणी तीन रहेको छ। यस्तै मिश्रले इन्टरमीडिएट परिक्षा द्धितीय श्रेणिमा उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रमा उल्लेख छ। उनको हाइस्कुल र इन्टरमिडिएट परीक्षा बीचको अन्तर आठ वर्ष देखिएको छ।
यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशी शैक्षिक प्रमाणपत्र बिबादमा तानिएर संसदीय सुनुवाई समितिले नाम अस्वीकृत गरेकाले उनी आइतबार नै १५ दिन विदामा बसेपछि वरिष्ठ न्यायाधीशको हैसियतले मिश्रले आइतबारदेखि पेशी तोक्न थालेका छन्।
शैक्षिक प्रमाणपत्रमा विवाद आउन थालेपछि पूर्व न्यायाधिश वलराम केसीले न्याय परिषद्ले प्रमाणपत्र अद्यावधिक नगर्दा समस्या भएको बताउँदै भने, ‘न्याय परिषद्को काम वरिष्ठतम न्यायाधीश सिफारीस गर्ने मात्रै होईन न्यायाधिशहरुको शैक्षिक प्रमाणपत्र अद्यावधिक गर्ने पनि हो।’
