काम छलेर पढाउने ध्यानतिरै कर्मचारी

रिपोर्ट नेपाल | 2020 Nov 26 | 08:40 am 1570

काठमाडौं, मंसिर ११ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउन तयारी अघि बढाएको छ ।

सहसचिव वा सोभन्दा माथिल्लो पदको कर्मचारीले सरकारको स्वीकृति बेगर निजी इन्स्टिच्युटमा पढाउन नपाउने निर्णय गरेलगतै मन्त्रालयले त्यस सम्बन्धमा कार्यविधि बनाउन लागेको हो । ‘कार्यविधि बनाउन गृहकार्य अघि बढाउने लागेका छौं।’ –मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने ।

मन्त्रालयले गत आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन प्रतिबन्ध लगाएको थियो । त्यसपछि सो कार्यलाई व्यवस्थित गर्न मन्त्रालयले कार्यविधि बनाउन लागिएको प्रवक्ता अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार कार्यविधि नबनेसम्म सम्बन्धित मन्त्रालयको सचिवको स्वीकृत लिएर मात्र कर्मचारीले पढाउन पाउने व्यवस्था गरेको छ । दीर्घकालसम्मको सोको व्यवस्थापनका लागि मापदण्ड वा कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए ।

कर्मचारीले मुलुकको चौतर्फी विकास, समृद्धि र नागरिकको हितमा काम गर्नुपर्नेमा काम छलेर पढाउनतिर बढी ध्यान दिएको बताउँदै प्रवक्ता अधिकारीले भने– जसले गर्दा जुन उद्देश्यका साथ निजामती प्रशासन हुनुपर्ने हो, त्यो भएन । त्यसैले तयारी कक्षामा अंकुश लगाएर निरुत्साहित गर्न खोजिएको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.