काभा पुरुष भलिबल प्रतियोगिता : अन्तिम खेलमा पनि नेपाल पराजित

रिपोर्ट नेपाल | 2023 Jun 26 | 06:31 am 1209

काठमाडौँ, असार ११। कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगिताको अन्तिम खेलमा पनि नेपालले पराजय भोगेको छ । आइतबारको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । योसँगै नेपालले प्रतियोगितामा खेलेका छवटै खेलमा हार बेहोरेको हो ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएशन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २५-२१, २५-२२ र २५-२३ को सोझो सेटमा पराजित भएको छ । नेपाल यसअघि पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा इरानसँग, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।

काभा पुरुष भलिबलमा नेपालसहित आयोजकका दुई टोली, इरान, मंगोलिया, तुर्किमिनिस्तान उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन् । त्यस्तै, तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । नेपाली टोलीमा हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा हुनुहुन्थ्यो ।

खेलपछि नेपाली कप्तान थापाले प्रतियोगितामा सबै निकै माथिल्लोस्तरको टोली भएको र नेपालले कडा प्रतिस्पर्धा गरेको बताउनुभयो । उहाँले प्रतियोगिताले नेपाली टोली र खेलाडीहरूको स्तरवृद्धि गर्न सहयोग पुर्‍याएको बताउनुभयो । यो नेपाली भलिबल टोलीले खेल्ने सबैभन्दा माथिल्लोस्तरको प्रतियोगितासमेत हो ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.