काबुल आक्रमणमा ११ जना नेपाली र ५ बेलायती घाइते

| 2018 Nov 30 | 11:38 am 1578

काठमाडौं, मंसिर १४ : अफगानिस्तानको काबुल आक्रमणमा ११ जना नेपाली र ५ बेलायती भएको पुष्टि भएको छ।

जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएको बीबीसीले जनाएको छ। मृतक १० मध्ये ४ विदेशी रहेको बताइए पनि नेपालीको भने ज्यान गएको छैन। घाइते मात्रै भएका छन्।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन। घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए। जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो।

अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए। त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो ।

घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ। आक्रमणको जिम्मा तालिवानले लिएको छ। अफगानिस्तानमा नेपालीहरु निसानामा परेको यो पहिलो घटना भने होइन। यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.