काठमाण्डाै फागुन ८ : – उपत्यकाका विभिन्न स्थानमा मर्मत गर्नुपर्ने भन्दै नेपाल विधुत प्राधिकरणले आज काठमाण्डाै, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा बत्ती जाने भएको जनाएको छ ।
जसानुसार लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने जनाइएको छ । रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
यस्तै लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन अस्पताल , कुमारीपाटी, मानभवन, जावलाखेल र ए.भी.एम. चोकलगायत क्षेत्रमा मर्मतको काम हुने हुदा त्यस क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।
यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बिजुली जाने भएको छ । पाटन फिडरअन्तर्गत पर्ने हनुमानथान, प्रसूतिगृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने छ ।
त्यसैगरि भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ । भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले दुई घण्टाका लागि बिजुली बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
विधुत प्राधिकरणले आज काठमाण्डाैको बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले त्यस फिडरमा पर्ने क्षेत्रमा बत्ती जाने भएको जनाएको छ । स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा आज दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ ।