काठमाडौंमा ३ बालबालिका कोठाबाटै अपहरित

| 2019 Dec 20 | 05:44 pm 1699

काठमाडौं, पुस ४ : काठमाडौंमा फेरि तीन बालबालिका कोठाबाटै अपहरित भएका छन् । अपहरणकारीले बालबालिकाको अपहरण गरी तीन लाख फिरौती मागेका थिए । प्रहरीले अपहरित बालबालिकालाई मुक्त गराए पनि अपहरणमा संलग्न व्यक्ति भने फरार भएका छन् ।

विशेष कामले आमा (नाम नखोलिएको) पोखरा जानु पर्दा सामाखुसीस्थित आफन्तकोमा छाडेर गएका बेला बालबालिकाको अपहरण गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार मंसिर ३० गते कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमीहरूलाई होटलमा लगी राख्नू भनेको छ’ भन्दै तीन बालबालिकालाई लगेका थिए ।

सिजापतिले बिहान विद्यालय जान लागेका बच्चाहरूलाई काठमाडौंको टोखा नगरपालिका ९, शान्तिटोलमा रहेको होटल ब्लु स्टारको कोठा नम्बर ४०४ मा बन्धक बनाएका राखेको पाइएको छ । डीएसपी बोगटीका अनुसार उनले मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी तीन लाख रुपैयाँ फिरौती माग गरेका थिए ।

पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अपहरण परेका बालबालिको नाम र उमेर सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार सिजापतिको खोजी जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.