काठमाडौंको प्रदूषणले स्वास्थ्यमा असर

रिपोर्ट नेपाल | 2023 Apr 20 | 07:52 am 1229

काठमाडौं, बैशाख ७ः यस साता अन्तर्राष्ट्रिय जगतमा काठमाडौं चर्चामा रह्यो । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा परेपछि सबैको चासो काठमाडौंमा केन्द्रित भयो । काठमाडौंको वायु गुणस्तर सूचांक (एक्यूआई) लगायत ३ सयमाथि रहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले खतरा मान्छ ।

वर्षा नहुनु र यतिबेला करिब ४ सय स्थानमा डढेलो लागेका कारण कचौराको आकारमा रहेको काठमाडौं उपत्यकालगायतका देशका अन्य भागमा समेत वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदूषण बढेका कारण भिजिविलिटीमा निरन्तर असर परिरहेको र हवाई उडानसमेत प्रभावित भएका छन् ।

कृषिजन्य पदार्थ र डढेलोका कारणले मात्र काठमाडौंको वायु प्रदूषण बढेको होइन । दु्रत सहरीकरण, पुराना सवारीसाधन र इन्धनको बढी प्रयोगका कारण पनि काठमाडौंको फोहोर बढेकाले स्वास्थ्यमा असर गरिरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक डाक्टर युवराज शर्माले बताए ।

वर्षा नभएको र डढेलो लागेका कारण काठमाडौं, बारा, पर्सा, चितवनमा समेत वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता शंकरप्रसाद पौडेलको भनाइ छ ।

वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै सावधान रहनेसमेत डाक्टर शर्माले आग्रह गरे । प्रदूषणका कारण आकाश तुवाँलोले ढाकेको छ । अझै केही दिन उपत्यकाको वायु प्रदूषण कायमै रहने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । चिकित्सकहरूले फोक्सो, आँखा र छालामा समस्या हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताएका छन् ।

डा. शर्माले समस्या बढ्न थालेको बताए । ‘मौसम परिवर्तनका कारण पनि भाइरल ज्वरोको समस्या देखिरहेको समयमा यस प्रदूषणले स्वास्थ्यमा थप जटिलता थप्ने भएकाले होसियारी हुन आवश्यक छ,’ उनले भने । हवाको गति स्थिर रहेकाले पनि काठमाडौंको प्रदूषित वायु उपत्यकामा बसिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई घरबाहिर ननिस्कन, अनावश्यक सवारीसाधन नचलाउन, फोहोर नजलाउन र धुलो धुवाँ उत्पन्न हुने निर्माण कार्य नगर्न भनेको छ । तर, काठमाडौं उपत्यकामा राति धुलो खसाल्दै टिपर गुड्न भने छाडेका छैनन् ।

यस प्रदूषणले श्वासनलीमा संक्रमण हुने समेत जोखिम रहेको डा. शर्माले बताए । उनले भने, ‘प्रदूषण बिहान बढी हुने भएकाले त्यस समयमा बाहिर निस्किनुभएन, मास्कको अनिवार्य प्रयोग गर्नुप¥यो, बाहिर निस्कदा सनग्लास पनि लगाउनु उपयुक्त हुन्छ ।’ प्रदूषणकै कारण नेपालमा पछिल्लो समय श्वासप्रश्वास, फोक्सो, मुटुका रोगी वृद्धि भइरहेका, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको संख्या बढेको चिकित्सकहरूको भनाइ छ । सन् २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपालमा वायु प्रदूषणका कारण ४२ हजारको मृत्यु भएको थियो ।

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषण डा. रामहरी चापागार्इंले बालबालिकालाई वायु प्रदूषणले समस्या देखिएको बताए । ‘अहिले रुघाखोकी, ज्वरो, टन्सिललगायतका समस्या बढेको छ, सिजनल फ्लुले मात्र नभई उपत्यकाको धुलो धुवाँले पनि असर गरेको छ,’ उनले भने, ‘बालबालिकालाई प्रदूषणबाट जोगाउनुपर्छ ।’ राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.