काठमाडौं आईपुगे भुटानको महिला फुटबल टोली

रिपोर्ट नेपाल | 2022 Aug 25 | 02:39 pm 2509

काठमाडौं, भदौ ९ः भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन भुटानको महिला राष्ट्रिय फुटबल टोली बहिबार काठमाडौं आईपुगेको छ ।

काठमाडौंको मौसमसँग घुलमिल हुन र थप तयारीका लागि भुटानी महिला टोली दुई साता अघिनै काठमाडौं आएको हो । भुटानी टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । दशरथ रंगशालामा संचालन हुने साफमा ६ टोलीको सहभागिता रहनेछ । यसअघि साविक विजेता भारतसहित सात टोलीको सहभागिता तय भएको थियो ।

तर विश्व फुटबल महासंघ (फिफ) ले अखिल भारत फुटबल महासंघ (आइएफएफए)लाई निलम्बन गरेपछि भारतको सहभागिता अनिश्चित बनेको हो । साफमा भुटान समूह ‘बी’ मा रहेको छ । यस समूहमा आयोजक नेपाल र श्रीलंका रहेका छ । यस्तै समूह ‘ए’ मा बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

लिग कम नकआउटमा आधारमा खेलाइने साफमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि विराटनगरका भएको अघिल्लो संस्करणको फाइनलमा भारत च्याम्पियन बनेको थियो ।

फाइनलमा भारतले नेपाललाई हराएको थियो । साफका लागि नेपालले पनि तयारी गरिरहेको छ । नेपाली टोलीका ३५ खेलाडीले अहिले बन्द प्रशिक्षण गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.