काठमाडौँ-जनकपुर पर्यटकीय बस सञ्‍चालन

रिपोर्ट नेपाल | 2018 Nov 11 | 09:16 am 1817

काठमाडौँ, कात्तिक २५-दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो । प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ छ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल ९टिवान०का अध्यक्ष प्रह्लाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन सेवाले ठूलो सहयोग पुग्ने बताए। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ।

दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको छ। काठमाडौँको कान्तिपथबाट पर्यटक बोकेर देशका विभिन्न पर्यटकीय भूभाग जाने गरेका पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जान बाध्य छन्।

पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ। आगामी दिनमा बर्दियामा समेत बस लैजाने लक्ष्य राखिएको अध्यक्ष लोहनीको भनाइ छ। हाल काठमाडौँबाट देशका विभिन्न भागसम्म पर्यटकलाई ओहोरदोहोर गराउन एक सयको हाराहारीमा पर्यटक बस सञ्चालनमा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.