कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका खेल्छ : पूर्वमन्त्री साउद

| 2018 Nov 12 | 10:34 am 2266

धनगढी, कार्ति २६-नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले कांग्रेसले निकट भविश्यमै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् । आइतबार धनगढीमा नेपाल प्रेस यूनियन कैलालीको ५ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता साउदले सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध महासमिति बैठक पछि कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका हुन्।

नेकपा नेतृत्वको सरकार संस्थागत भ्रष्टाचार, मूल्यवृद्धि लगायतका जनविरोधी काम गर्दै आएको दाबी गर्दै उनले सरकारका जनविरोधी क्रिया क्रियाकलापका विरुद्ध कांग्रेसले महासमिति बैठक पछि एकजुट भएर सडक र सदनबाट आन्दोलन चर्काउने जिकिर गरे । नेकपाले स्थिरिता र समृद्धि दुइटा कुरामा टेकेर दुइ तिहाई जनमत प्राप्त गरेता पनि अहिले आएर उसको आफ्नै भित्रै अन्तरबिरोध बढेको छ ।

पार्टीभित्र बढेको अन्तरबिरोधले देशमा स्थिरता कदापि ल्याउन सक्दैन,’’ साउदले भने, ‘‘सरकार आफै संस्थागत भ्रष्टाचारमा डुबेको छ । मूल्यवृद्धि, हत्या–हिंसा बढेको बढ्यै छ । यस्तो अवस्थामा कदापि समृद्धिको कल्पना गर्न सकिन्न । अब हामी महासमिति बैठक पछि एकजुट भएर सडक र सदनबाट आन्दोलन चर्काउँछौं ।’’

कम्युनिष्ट सरकारका कारण प्रजातन्त्र संकटमा परेको दाबी गर्दै उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरु नै सशक्त भएर लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा विभिन्न २० जिल्लाका कांग्रेस नेता–कार्यकर्तासँग पार्टी सुदृढिकरणका लागि छलफल गरेको स्मरण गर्दै उनले आफूले भ्रमण गरेका जिल्लाका नेता–कार्यकर्ताहरुमा पार्टी एकजुट हुनुपर्ने मनोभावना पाएको बताए।

‘‘जिल्ला–जिल्लामा नेता–कार्यकर्ताहरुमा पार्टी एकजुट र एकढिक्का हुनुपर्ने मनोभावना पायौं । उनीहरुको मनोभावनाको कदर गरेर अव पार्टीभित्रको गुटबन्दी पूर्णरुपमा निस्तेज पार्न आवस्यक छ’’ नेता साउदले भने । उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा बनाउनु उपयुक्त नभएको पनि जिकिर गरे । गोदावरीको जंगल मासेर राजधानी बसाउँदा सुदूरपश्चिम आर्थिक रुपमा झन पछाडि धकेलिने साउदको भनाइ थियो ।

‘‘गोदावरीमा राजधानीका लागि कुनै पनि भौतिक संरचनाहरु छैनन् । राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न आगामी ३ देखि ५ वर्षसम्म लाग्छ । प्रदेशको व्ययभार बढ्छ । जसका कारण अन्य प्रदेशको तुलनामा हामी अझै पछाडि पर्ने निश्चित छ’’ उनले भने । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारले संबिधानमा भएको अधिकार पनि प्रयोग गर्न नसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.