विश्लेषण

कांग्रेसले भोग्दै छ, हस्तिनापुरको नियती

रिपोर्ट नेपाल | 2019 Jul 20 | 12:22 pm 3070

  • कृष्ण प्रसाद सापकाेटा

काठमाडौं:  द्धापर युगमा आर्यव्रतमा सर्वशक्तिशाली देश थियो । हस्तिनापुर । यतिबेलाको संयुक्त राज्य अमेरिका जस्तै वैभव थियो । त्यतिबेलाका सर्वाधिक शक्तिशाली परशुरामलाई समेत पराजित गर्ने सामाथ्र्य बोकेका भीष्म पितामह हस्तिनापुर दरवारका अभिभाक थिए ।

जसले भगवानबाट इच्छा मृत्युको बरदान पाएका थिए । धर्नुविद्यामा पारंगत गुरु द्रोणाचार्य हस्तिनापुरको रक्षा कवच बनेका थिए । कहिल्यै नमर्ने बरदान पाएका ब्रमस्त्रधारी अस्वस्थामा पनि हस्तिनापुरका रक्षाकवच थिए । विदुर जस्ता महाज्ञानी मन्त्री थिए । यस बाहेक कर्ण, अर्जुन लगायतका धर्नुवीर । भीम, दुर्योधन लगायत मल्लयुद्धमा अपराजेय बलवान समेत हस्तिनापुरमा थिए । परमसत्यवादी युधिष्टर थिए । ज्ञानी ऋषि महर्शीहरु पनि त्यतिकै थिए । अरु देशहरुलाई चुड्किीको भरमा आफ्नो देशमा समाहित गर्न सक्ने सामाथ्र्य बोकेको हस्तिनापुर अखिर आँफै चकनाचुर भयो । हस्तिनापुरका महान योद्धाहरु महान ज्ञानीहरु जब एकले अर्कोलाई सिध्याउने अभियान अन्तर्गत कुरु क्षेत्रको मैदानमा लडाँइ लडे । त्यो लडाँइले हस्तिनापुर ध्वस्त बनायो ।

यतिबेला नेपाली कांग्रेसले पनि त्यही हस्तिनापुरको नियती बेहोर्दै त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ । हस्तिनापुर सँग जे थियो नेपाली कांग्रेससँग पनि त्यही छ । नेपाली कांग्रेससँग अहिले पनि यस्ता नेताहरु छन् जसको अगाडी अरु पार्टीका सबै नेताहरु तौलिने हो भने पनि पुग्दैन । राजनीति र रणनीतिमा पारंगत नेता खोज्ने हो भने प्रदीप गिरि अद्धितीय छन् । उनी जत्तिको अध्यायानशील तथा व्याख्या गर्ने क्षमता भएका नेता मुलुकमा अर्को छैन । उनी नेपाली कांग्रेसमै छन् । डा. रामशरण महतले योग्य अर्थशास्त्रीका रुपमा अन्तर्राष्ट्रिय निकायबाट पटक पटक पुरस्कार प्राप्त गरेका छन् ।

सन् १९९० मा शीत युद्धको समाप्ति पछि विश्वमा राज्य नियन्त्रित उद्योग व्यवसायको युग समाप्त भयो । ठीक त्यहीबेला नेपालमा पनि डा. महतले राज्यनियन्त्रित उद्योग व्यवसायको युग समाप्त गरी नेपाललाई उदार अर्थतन्त्रको नयाँ युगमा प्रवेश गराए । डा. महतको त्यो नीतिलाई झलनाथ खानल र केपी ओलीले मात्रै होइन कम्युनिष्ट क्रान्तिको सपना बोकेका पुष्पकमल दाहल प्रचण्ड र डा बाबुराम भट्टराईले समेत अनुसरण गरे ।

केही महीना अघि ओली सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन समेत ग¥यो । डा महत नेपाली कांग्रेसकै नेता हुन् । डा मीनेन्द्र रिजाल व्यवस्थापन विषयको प्राध्यापन गरेर अमेरिकामा ख्याती कमाई सकेका नेता हुन् । क्यानडाका विभिन्न विश्वविद्यालयले डा नारायण खड्कालाई भिजिटिङ प्रोफेसरका रुपमा अहिले पनि बोलाउने गर्छन् । डा रामशरण महतले अमेरिककाको प्रसिद्ध हवार्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । शैक्षिक योग्यता कम भएकाहरु राजनीतिमा हावी भएको चर्चा यतिबेला पनि जारी छ ।

तर नेपाली कांग्रेसको केन्द्रीय समितिमा हेर्ने हो भने पिएचडी गरेका नेताहरुको संख्या एकदर्जन भन्दा माथि छ । स्नातकोत्तर उत्रिर्ण नगर्नेहरुको संख्या नेपाली कांग्रेसको केन्दी्रय समिति भित्र नगण्य छ । आरक्षणको कोटामा केन्द्रिय सदस्य बन्नेहरुमध्ये पनि धेरैले पिएचडी तथा स्नातकोत्तर गरेका छन् । राजनीतिक संघर्षका हिसावले भन्ने हो भने सभापति शेरबहादुर देउवाले ९ वर्ष जेल जीवन विताएका छन् । वरीष्ठ नेता रामचन्द्र पौडेलले १६ वर्ष जेल जीवन विताएका छन् । उनले करिव एक दर्जन जति त पुस्तक नै लेखेका छन् ।

२०४६ सालको परिवर्तन पछि पार्टी राजनीतिमा होमिएका युवा नेताहरु तर्फ हेर्ने हो भने चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, विश्वप्रकास शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, उदयशमशेर जबरा, बद्री पाण्डे, जीवन परियार लगायत दर्जनौ छन् । अर्थात द्धापर युगको हस्तिनापुरसँग अरु देशको तुलनामा जति शसक्त जनशक्ति थियो यतिबेला पनि नेपाली कांग्रेस सँग अरु पार्टीको तुलनामा त्यति नै शसक्त जनशक्ति छ ।

तर त्यो हस्तिनापुर जस्तै यो नेपाली कांग्रेसको सामाथ्र्य पनि आपसी द्धन्दकै कारण दिन प्रतिदिन क्षीण बन्दै गएको छ । यो अथाह शक्ति हुँदा हुँदै पनि यतिबेला नेपाली कांग्रेस अत्यान्त निरिह र कमजोर देखिएको छ । जसरी राजाधृतराष्ट्रको कमजोरीका कारण हस्तिनापुर ध्वस्त भएको थियो त्यसरी नै नेपाली कांग्रेस ध्वस्त हुँदै त छैन ? भन्ने प्रश्न यतिबेला जोडतोडका साथ उठेको छ ।

जनताको साथ र समर्थन घटेका कारण कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने पनि त्यस्तो अवस्था देखिँदैन । चुनावको मत परिणमलाई हेर्ने हो भने कांग्रेस प्रतिको जनसमर्थन घटेको देखिँदैन । २०६५ को संविधानसभा निर्वाचनमा २३ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा ३० प्रतिशत मत प्राप्त ग¥यो । गत निर्वाचनमा ३४ प्रतिशत मत प्राप्त ग¥यो । तर उल्लेखनीय रुपमा मत बढ्दै गर्दा पनि भूमिकाका हिसावले कांग्रेस दयानीय देखिनु भनेको नेतृत्वको कमजोरी हो ।

सैद्धान्तिक रुपमा अन्योल भएकोले कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो छैन । अहिले मुलुकमा जुन प्रकारको शासन व्यवस्था छ त्यो नेपाली कांग्रेसको स्थापनाकाल देखिकै लक्ष हो । नेपाली कांग्रेसको त्यही लक्ष्यमा मुलुकका सबै पार्टीहरु आइपुगेका छन् । अर्थात नेपाली कांग्रेसले स्थापनाकाल देखि जुन सिद्धान्तका लागि लडाँइ गरेको थियो त्यो सिद्धान्त यतिबेला मुलुकका सबै पार्टीहरु आएका छन् ।

मुलुकमा नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त तथा आर्थिक सिद्धान्त लागू हुनु तर नेपाली कांग्रेसको भुमिका कमजोर हुनु भनेको नेतृत्वकै कमजोरी हो । मुलुकको शासन संचालनको बागडोर पाएको बेला अथवा राजनीतिक नेतृत्व गर्ने अवशर पाएको बेला चुकेका कारण अहिले नेपाली कांग्रेसको भूमिका कमजोर भएको हो कि ? भनेर विश्लेषण गर्ने हो भने पनि यर्थाथता त्यस्तो देखिँदैन ।

विगत ७५ वर्षको इतिहास हेर्ने हो भने पछिल्लो तीन वर्ष बाहेक नेपाली कांग्रेस आफ्नो जिम्मेवारी तथा भूमिकामा कहिल्यै असफल भएको देखिँदैन । देउवा वाहक नेपाली कांग्रेसका हरेक प्रधानमन्त्री तथा हरेक सभापतिहरुले नयाँ इतिहास रचेका छन् । मुलुकमा युगान्तकारी परिवर्तनको नेतृत्व गरेका छन् । विपि काइरालाले के गरे ? भन्ने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन । सुवर्णशमशेर राणाले मुलुकबाट जमिनदारी प्रथा उन्मुलन गरे, समाजवादी ढाँचाको आर्थिक सिद्धान्त दिए । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायती व्यवस्था उन्मुलन भयो । एक वर्ष भित्रै नयाँ संविधान ल्याएर आम निर्वाचन गरायो । गिरिजाप्रसाद कोइरालाको पालामा गणतन्त्र आयो, संविधानसभाको निर्वाचन सम्पन्न भयो । सुशील कोइरालाको पालामा संविधानसभाद्धारा नयाँ संविधान निर्माण भयो, जुन काम सम्पन्न गर्न कम्युनिष्ट नेतृत्वका चार–चार वटा सरकार असफल भएका थिए ।

सफलता नै सफलताको विरासत बोकेको नेपाली कांग्रेस यतिबेला पंगु र भुमिका विहीन हुनुमा नेतृत्वलाई बाहेक अरुलाई दोष दिन मिल्दैन ।

अब स्थानीय निर्वाचनको मिति आउन २ वर्ष, प्रदेशसभाको निर्वाचनको मिति आउन साँढे २ वर्ष र प्रतिनिधिसभा निर्वाचनको मिति आउन ३ वर्ष बाँकी छ । तर सभापति देउवा आफ्नो कार्यकाल डेढ वर्ष थप्ने अभियानमा छन् । यदी डेढ वर्ष म्याद थपियो भने कांग्रेसको महाधिबेशन र स्थानीय तहको निर्वाचनको समय जुध्छ । महाधिबेशनका सन्दर्भमा आपसी चुनाव लड्दाको तुष स्थानीयतहको निर्वाचनमा पोखिन्छ । घात अन्तर्घात स्वभाविक रुपमा बढ्छ । त्यस पछि नेपाली कांग्रेस नसकिए, कुन पार्टी सकिन्छ ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.