कांग्रेसको वडा अधिवेशन: कतै उत्साह कतै अन्योल

रिपोर्ट नेपाल | 2021 Sep 01 | 07:52 am 1829

काठमाडौं, भदाै १६ः पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ । पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँ/नगर अधिवेशन भन्दा दुई/तीन दिनअघिसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ । क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण २१ जिल्लामा अझै निर्वाचन अधिकृत खटाउन सकेको छैन । निर्वाचन अधिकृत खटाइएको केही जिल्लामा अझै विवाद कायम रहेको छ । निर्वाचन समितिले मंगलबार साँझसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको ५६ जिल्लामा मात्र निर्वाचन अधिकृतलाई जिल्ला खटाएको जनाएको छ । कांग्रेसको क्रियाशील सदस्य वडा अधिवेशनका प्रतिनिधि तथा मतदाता हुन् ।

‘म हिजो नै जिल्ला आइपुगेको हुँ, पार्टीको जिल्ला नेतृत्वसँग छलफल सहमति गरी आजै (मंगलबार) सबै वडामा मतदान अधिकृत तोकेर निर्वाचन सामग्री पठाउँदै छु’, खोटाङ जिल्ला खटिएका निर्वाचन अधिकृत विकास भट्टराईले भने– ‘यहाँ रहेको ७९ वटा वडामा पर्सि १८ गते नै वडा अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको छ ।’ उनका अनुसार अहिलेसम्म खोटाङमा कुनै समस्या आएको छैन ।

ओखलढुंगा जिल्लामा रहेका निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार यस जिल्लामा पनि पर्सि शुक्रबार सबै वडाको अधिवेशन गर्ने तयारी भइरहेको छ । ‘म मंगलबार बिहानै जिल्लामा पुगेको छु, पार्टीका जिल्ला नेताहरूसँग छलफल गरेर निर्वाचन तयारी अघि बढाइरहेको छु’, पौडेलले भने– ‘७५ वटा वडा रहेको यस जिल्लामा प्रत्येक वडामा मतदान अधिकृत तोक्ने कार्य हुँदै छ ।’ यहाँ वडा अधिवेशनका लागि पार्टीका सबै नेता तथा कार्यकर्ताहरू उत्साहका साथ लागिपरेको उनको भनाइ थियो ।

यता, सोलुखुम्बु जिल्लामा खटिएका निर्वाचन अधिकृत कैलाश गुरुङले मंगलबार दिउँसो नेपाल समाचारपत्रलाई टेलिफोन गरी जानकारी दिएअनुसार आज बुधबार बिहानैदेखि अधिवेशनको तयारीमा जुट्ने बताएका थिए । ‘म अहिले बाटोमा छु साँझसम्म जिल्ला पुग्छु’ जिल्ला निर्वाचन अधिकृत गुरुङले भने– यस जिल्लामा पनि १८ गते नै वडा अधिवेशन सम्पन्न गर्ने तयारीका साथ आएको छु ।

‘वडा अधिवेशन १८ गते गर्ने भनिएको छ, आफ्नो जिल्लामा तोकिएको समयमा वडा अधिवेशन हुन्छ कि हुँदैन अझै अन्योल छ’, डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले नेपाल समाचारपत्रसँग भने– ‘केन्द्रले अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाएको भनिएको छ, तर निर्वाचन अधिकृतले अहिलेसम्म मलाई सम्पर्क गरेको छैन ।’ वडा अधिवेशन गर्नुपर्ने दुई दिन अघिसम्म पनि जिल्ला सभापतिसँग निर्वाचन अधिकृतको छलफल नहुनुले यस जिल्लामा पनि अधिवेशनबारे अन्योल भएको बुझ्न सकिन्छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.