काठमाडौं, मंसिर १३: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो ११ बजे बस्ने भएको छ। बिहीबारको बैठकमा विधान संशोधनका प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा बिहीबारदेखि हुने छलफलमा सामूहिक धारणा बनाउने जनाइएको छ।
बुधबार सभापति देउवा निवासमा संस्थापन पक्ष र महामन्त्री शशांक कोइराला निवासमा इतरपक्षको बेग्लाबेग्लै छलफल गरेका थिए।
दुवै बैठकका एजेन्डा समान थिए– विधान संशोधनका प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा बिहीबारदेखि हुने छलफलमा सामूहिक धारणा बनाउने। विषय एउटै भए पनि दुई बैठकका स्वार्थ फरक थिए।
सभापति देउवाले आफ्नो पक्षका सदस्यको मात्रै बैठक बोलाउन थालेको इतरपक्षको आरोप छ। पार्टीभित्र सहमति जुटाउन देउवाले केही समयअघिसम्म पदाधिकारी, पूर्वपदाधिकारी र दुवै पक्षका वरिष्ठ सदस्यहरूको बैठक बोलाउने अभ्यास थालेका थिए। अहिले आआफ्नै पक्षका भेला चल्दै छन्।
दुवै बैठक विधानको प्रस्तावित मस्यौदामा नमिलेका विषयमाथि नै केन्द्रित भए। दुवै पक्षबीच पदाधिकारी थप्ने/नथप्नेमा रस्साकसी छ। प्रस्तावित मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ बाट बढाएर १ सय ३१ सदस्यीय बनाइँदा पनि पदाधिकारी नथपिएको विषयलाई इतरपक्षले मुद्दा बनाएको छ।
पदाधिकारी संख्यामा दुवै पक्षका महाधिवेशन लक्षित रणनीति गाँसिएका छन्। केन्द्र र संघीय कार्यसमितिका सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने संस्थापनइतरको दोस्रो अडान छ।
बुधबारबाट सुरु भएको कांग्रेसको जिल्ला सभापति भेला नुवाकोटको ककनीमा आज पनि जारी छ। बैठकले विधान संशोधन र संगठनलाई अघि बढाउने सवालमा समान धारणा बनाएर आज बैठक समापन गर्ने जनाइएको छ। बैठक समापन अघि ककनी घोषणापत्र जारी गर्ने तयारीसमेत सभापतिहरूको छ।
महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म राजधानीमा हुँदै छ।