कांग्रेसका शीर्ष नेताबीच भागवण्डामा सहमति, केन्द्रीय समिति बैठक सोमबार बस्ने

रिपोर्ट नेपाल | 2020 Jan 26 | 08:52 am 2046

काठमाडौं, माघ १२: लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताबीच भागवण्डामा सहमति भएपछि सोमबार केन्द्रीय समिति बैठक बस्ने भएको छ।

गुट उपगुटमा विभाजित कांग्रेसभित्र आन्तरिक भागवण्डा नमिल्दा एक पक्षले लगातार केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएका थिए।

महाधिवेशनमा नेतृत्व हत्याउने जोडघटाउमा लागेका शीर्ष नेताबीच सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको सहमतिपछि भोलि सोमबार केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।

यसअघि सभापति देउवा पक्ष इतरका नेताहरू केन्द्रीय समिति बैठकमा अनुपस्थित भएपछि महाधिवेशन गर्नेजस्तो महत्वपूर्ण निर्णयसमेत बहुमतको आधारमा गरिएको थियो। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसके पनि भोलि बस्ने बैठकमा पुनः छलफल हुने बताइएको छ।

साथै बैठकमा म्याद गुज्रिसकेको नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थाहरूको बारेमा पनि छलफल हुनेछ। शुक्रबार सभापति देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरूको छलफलमा नेविसंघ, तरुण दलमा भागवण्डा गर्ने र महाधिवेशनको कार्यतालिका पनि परिवर्तन गर्ने सहमतिपछि केन्द्रीय समिति बैठक आह्वान गरिएको बताइएको छ।

पुस ११ गते सम्पन्न केन्द्रीय समिति बैठकले बहुमतको आधारमा गरेको निर्णयअनुसार २०७७ फागुन ७ गते देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो।

शीर्ष नेताहरूले सहमतिमा केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर स्थानीय र प्रदेश तहको अधिवेशन गर्ने मिति भने परिवर्तन गर्ने गरी सहमति गरेका छन्। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.