कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल | 2026 Oct 05 | 10:47 pm 229

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका भण्डारीले लामो राजनीतिक संघर्ष, निष्ठा, त्याग र संगठनप्रतिको समर्पणलाई आफ्नो उम्मेदवारीको आधार बनाएका छन्।

स्ववियु सभापतिदेखि नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्यको जिम्मेवारी सम्हाल्दै आएका भण्डारीले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको भावनालाई कांग्रेसको मूलधारमा जोड्न आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्।

विद्यार्थी राजनीतिमा रहँदा संगठन निर्माण र नेतृत्व विकासमा सक्रिय भण्डारीले त्यसपछि पार्टीको मूल राजनीतिमा निरन्तर काम गर्दै आएका छन्। उनको राजनीतिक यात्रालाई विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनसम्मको निरन्तर सक्रियता र अनुभवका रूपमा लिइन्छ।

भण्डारीले कांग्रेसलाई थप संगठित, जनमुखी, गतिशील र समयानुकूल पार्टीका रूपमा अघि बढाउन युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा आम कार्यकर्ताको आवाजलाई नेतृत्वको केन्द्रमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

उनको उम्मेदवारीको मुख्य सन्देश नै ‘कांग्रेस रूपान्तरणका लागि निष्ठा, त्याग र समर्पणसहितको नेतृत्व’ रहेको छ।

भण्डारीले १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराई कांग्रेसको रूपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

‘पदका लागि मात्र होइन, पार्टीको भविष्यका लागि उम्मेदवारी हो। विद्यार्थी राजनीतिदेखि आजसम्म कांग्रेसको संगठन र विचारप्रति इमानदार भएर गरेको संघर्षलाई अब केन्द्रीय नेतृत्वमार्फत अझ प्रभावकारी बनाउने संकल्प गरेको छु,’ भण्डारीको भनाइ छ।

उनले महाधिवेशन प्रतिनिधिहरूको विश्वास, साथ र अमूल्य मतले आफूलाई केन्द्रीय नेतृत्वमा पुग्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ कार्यशैलीसहित अघि बढाउन आफूलाई मत दिन अपिल गरेका छन्।

मोती भण्डारीको अपिल : “निष्ठा, त्याग र समर्पणको राजनीतिलाई साथ दिनुहोस्, कांग्रेस रूपान्तरणको अभियानमा आफ्नो अमूल्य मत प्रदान गर्नुहोस्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.