कांग्रेस महाधिवेशनको मिति सार्दै

| 2021 Oct 25 | 07:10 am 1841

काठमाडौं, कात्तिक ८ः नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन एक डेढ महिनापछि सर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार नयाँ कार्यतालिकाको खाका तयार गर्न आज सोमबार निर्वाचन समितिको बैठक बस्दै छ । यसअघि कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ सम्मका लागि तय गरिएको थियो ।

तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ । गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले अधिवेशन भएको निर्वाचन क्षेत्रको संख्या भने १४ पुगेको छ । बाँकी जिल्लामध्ये ४६ वटा जिल्लामा पालिकासम्मको अधिवेशन भएको निर्वाचन समितिका संयोजक यादवले बताउनुभयो । क्रियाशील सदस्यता विवादका कारण प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेत र रसुवामा अधिवेशन प्रक्रिया नै शुरु हुन सकेको छैन ।

अधिवेशन प्रक्रिया शुरु नै हुन नसकेको १३ जिल्लामध्ये ११ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी निर्वाचन समिति सूची उपलब्ध गराइसकिएको जानकारी दिँदै केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले भने– ‘बाँकी दुई जिल्ला रसुवा र रौटहटबाहेक अन्य जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाउने बारेमा पनि निर्वाचन समितिमा छलफल भइरहेको छ ।’

पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १८ गतेसम्म सबै जिल्ला अधिवेशन र कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने थियो । नेतृत्व हत्याउने रणनीतिमा लागेका शीर्ष नेताहरूले पनि तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न चासो नदेखाएका कारण महाधिवेशनको पूर्वनिर्धारित समय प्रभावित बनेको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.