काँग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

रिपोर्ट नेपाल | 2021 Dec 26 | 02:56 pm 1269

काठमाडौं, पुस ११ः नेपाली काँग्रेसले महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानको धारा २६१ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम काँग्रेसले शनिबार आयोगमा दल दर्ता गराएको जानकारी दिए ।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० काँग्रेसले आयोगमा दल दर्ता गराएको हो । संविधानको धारा २७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि आयोगमा दल दर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्रवक्ता पौडेलका अनुसार शनिबार दिउँसो १४ औँ महाधिवेशनबाट निर्वाचित संघीय, प्रदेश (समावेशी) कार्यसमितिको नयाँ सूची काँग्रेसले आयोगमा बुझाएको छ ।

दल दर्ता भएसँगै पार्टीको संशोधित विधान र वार्षिक लेखापरीक्षणको प्रतिवेदन पनि काँग्रेसले आयोगमा बुझाएको छ । आयोगमा दल दर्ता भएसँगै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.