काँग्रेस महासमितिमा हिन्दुराष्ट्रबारे बहस हुने

रिपोर्ट नेपाल | 2018 Dec 16 | 03:28 pm 1632

काठमाडौं, पुस १ : मंसिर २९ गते विधिवत उद्‍घाटन भई शुरु भएको नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रबारे बहस हुने भएको छ । उपसभापति विमलेन्द्र निधिद्वारा तयार पारिएको राजनीतिक दस्तावेजमा झण्डै आधा दर्जन ठाउँमा धर्म निरपेक्षता लेखिए पछि नेपाली काँग्रेस भित्रका सनातन हिन्दु धर्ममा आस्था राख्नेहरुबाट त्यसको विरोध भई रहेको छ ।

उपसभापति निधिले केन्द्रीय समितिको बैठकमा महासमितिमा पेस हुने प्रस्ताव सुनाएपछि केन्द्रीय सदस्य एनपी सावद, चन्द्र भण्डारी, शंकर भण्डारी लगाएतका नेताहरुले विरोध जनाएका थिए ।

आफ्नो राजनीति प्रतिवेदनमा उल्लेख भएको धर्म निरपेक्षता नहटाउने अड्डी लिएपछि केही क्षण पार्टीको बैठकमा बवण्डर मच्चीएको थियो । निधि र युवा नेताहरुबीच चर्काचर्की भएपछि सभापति देउवाले सबै धर्मले महासमितिमा छलफल गर्न पाउने भनेपछि मत्थर भएको थियो ।

जारी महासमिति बैठकमा नेपाली काँग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिनु पर्ने भन्दै हस्ताक्षर अभियान चलाइएको छ । आइतबार अपरान्ह ३ बजेसम्म झण्डै पाँचसय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

हस्ताक्षर अभियानकर्ताहरुले नेपाल प्राचीन, सनातन, परम्परागत धार्मिक र सांस्कृतिक परिवेशमा अगाडि रहेको जनाएका छन् । नेतृत्वलाई दबाब दिनका लागि चलाइएको हस्ताक्षर अभियानका कारण बन्दसत्रमा यस विषयले प्रवेश पाउने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.