कहाँ छन् मकवानपुरका साढे तीन सय महिला र बालबालिका ?

रिपोर्ट नेपाल | 2018 Sep 09 | 08:30 am 1739

काठमाडौं, भदौ २४: मकवानपुरको सुदुरपूर्वमा पर्ने वाग्मती गाउँपालिकास्थित राईगाउँ-१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरबाट हेटौंडा घुम्न आएको डेढ महिना भइसक्यो। अहिलेसम्म उनीहरू घर फर्केका छैनन्। असार १ मा उनीहरू घरबाट निस्केका थिए।

दुवैका चार वर्ष पुग्दै गरेका एक/एक छोरी छन्। राई र थिङ घरमा बच्चा छाडेर बेपत्ता भएका छन्। राईका पति नेपाल प्रहरी र थिङका पति रोजगारीका लागि साढे १ वर्षदेखि कतार छन् । बुहारीहरू घर फर्केनन् भनेर दुवैका ससुराले खोजीका लागि जिल्ला प्रहरी कार्यालय हेटौंडाको महिला सेलमा असार १३ गते निवेदन दिएका छन।

राईगाउँको मात्र होइन, मकवानपुरगढी गाउँपालिका-८ बुढीचौरकी २४ वर्षीया विवाहित जानुका विक पनि बेपत्ता भएको दुई महिना भइसक्यो। उनका पतिले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनन्।

प्रहरीलाई खोजबिन गरिदिन पनि निवेदन दिएका छन्। पति श्याम विक विदेशबाट फर्केको दिनदेखि पत्नीको खोजबिनमा जुटिरहेका छन्। मलेसियाबाट पति विक काठमाडौं ओर्लेकै दिनदेखि जानुका घरबाट बेपत्ता भएकी हुन् । घरका सासूससुरालाई काठमाडौंमा पति लिन जान लागेको भनेर उनी घरबाट निस्केकी थिइन्।

उनी पतिलाई स्वागत गर्न पनि पुगिनन् र घर पनि फर्किइनन्। २ र ४ वर्षका दुई छोरालाई छाडेर उनी बेपत्ता भएकी हुन्। पतिले विदेशबाट पठाएको सबै पैसा कुम्ल्याएर उनी बेपत्ता भएकी हुन्।

मकवानपुरको कैलाश गाउँपालिका-३ कालिकाटारकी १९ वर्षीया सुनीता मोक्तान विदेश जान्छु भनेर हिँडेको ५ महिना भइसकेको छ, अहिलेसम्म अत्तोपत्तो छैन। ‘विदेशमा गएर हराएको हो कि, अन्त कतै गएको हो अहिलेसम्म अत्तोपत्तो छैन,’ बाबु दुर्गाबहादुर मोक्तानले भने । छोरीको खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौंडामा निवेदन दिएका छन्।

वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुरगढी सुकौराका अर्जुन भ्लोनकी पनि पत्नी चार महिना घरबाट बेपत्ता भएकी छन्। आव ०७४/०७५ को असार महिनामा मात्र विवाहित २२ सहित ३१ जना महिला बेपत्ता भएका छन् । यसैगरी मनहरी गाउँपालिका ७ रमनटारका २ बालिका र एक बालक असारको ८ गतेदेखि हराएका छन्।

घरबाट मनहरी बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन्। बालिकाकी आमा सुन्तली विकले १३ वर्षीया छोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएकी छन्। असार महिनामा मात्र मकवानपुरका १० बालिकासहित १२ बालबालिका हराएको महिला सेलले जनाएको छ।

गत आवमा मकवानपुरका १ सय ५१ जना विवाहितसहित २ सय ४२ महिला हराएका छन्। ६८ बालिकासहित १ सय ११ बालबालिका बेपत्ता भएका छन। हराएकामध्ये २ सय ७ महिला र १ सय ५ वालबालिका फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले बताए।

मकवानपुरामा आव ०७४/०७५ मा महिला र बालबालिका गरेर ३ सय ५३ जना बेपत्ता भएका थिए। तीमध्ये ४१ जनाको हालसम्म अत्तोपत्तो छैन। आव ०७३/०७४ मा १ सय ८२ जना महिला र ६९ जना बालबालिका हराएका थिए। तीमध्ये ४९ जना महिला र १८ जना बालबालिका मात्र फेला परे। १ सय ८४ बेपत्ता भएका थिए। गत आवमा ३ सय ५३ मध्ये ३ सय १२ जना फेला परेका छन्।

आव ०७२/०७३ मा महिला र बालबालिका गरेर १ सय ६३ जना बेपत्ता भए। महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ। तीमध्ये ७८ जना मात्र फेला परेका थिए। ८५ बेपत्ता भएका थिए। ‘महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ,’ बालबालिकाका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबािलकालाई कता लगेर बेपत्ता पार्छन् पत्ता लगाउन मुस्किल परेको छ।’आव ०७०/०७१ मा ४५ जना महिलासहित ८० जना मात्र बेपत्ता भएका थिए।

तीमध्ये ४३ जना फेला परेका थिए। ३७ जना बेपत्ता भएका थिए। बेपत्ताको संख्या बर्सेनि बढ्दै छ। ‘प्रहरी कार्यालय हेटौंडाको सूचीमा बेपत्ता भनिएकाहरू पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सूची धेरै देखिएको हो,’ प्रहरी नायब उपरीक्षक सिंहले भने।

हराइएका वा बेपत्ता पारिएका बालबालिका भारतको सर्कस र महिलाहरू अवैध ढंगले विदेश पुर्‍याइएका हुन सक्ने माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले बताइन्।

उनले भनिन्, ‘महिलाहरूलाई विभिन्न ढंगले विदेशमा पुर्‍याएर बिक्री गर्ने गरेका छन्।’ विगतमा विवाह गरेर भारतमा लगेर पुरुषले बिक्री गर्थे भने अहिले वैदेशिक रोजगारीका नाममा बिक्री गरेका छन्। ‘मानव बेचबिखनको स्वरूप अहिले बदलिएको छ,’ उनले भनिन्, ‘महिला र बालबालिका बेपत्ता हुने क्रम बढेको छ तर एकाधमात्र फेला पर्छन्।’

पहिला मानव बेचबिखन कार्यमा पुरुषमात्र संलग्न हुन्थे, अहिले महिला पनि सक्रिय हुन लागेका छन् । महिलाहरू विशेषगरी महिलाकै सम्पर्क र पहलमा बिक्री भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.