कहाँ गयो सेनका सन्तानको इतिहास ?

रिपोर्ट नेपाल | 2021 Jan 22 | 04:42 pm 34537

  • बसन्त भुजेल

जित्नेले हार्नेहरुको इतिहास समाप्त पारिदिने कुरा समाजशास्त्रको नियमै हो । यो प्रयत्न अहिले पनि हुँदै आएको छ । तर कुनै यस्तो युग पनि थियो जुन बेला जित्ने पक्षद्धारा हार्ने पक्षको बंश मात्रै होइन जाती तथा नश्ल नै समाप्त गरिन्थ्यो । नेपालका सन्दर्भमा यसको मारमा परेको पछिल्लो जात तथा बंश हो –‘सेन अर्थात भुजेल ।’

सेनहरु को हुन् ? वर्तमान नेपाल, भारत तथा तिब्बतमा पर्ने क्षेत्रमा सेनहरुले कति शताव्दी शासन गरे ? सेन राज्यको आकार कत्रो थियो ? के कस्तो बैभव थियो ? भन्ने कुरामा नेपालको इतिहासमा धेर–थोर उल्लेख नै छ । यस सन्दर्भमा मैले यसै रिर्पोट नेपाल अनलाईनको विगतका अंकमा केही संक्षिप्त उल्लेख गरेको पनि छु । हालै प्रकासित मेरो पुस्तक ‘लक डाउन डायरीमा’ पनि त्यो आर्टिकल समेटिएको छ । यो आलेखमा भने सेन तथा उनका सन्ततीहरु अहिले खोई त ? भन्ने सन्दर्भमा छोटो चर्चा गरेको छु ।

इतिहासकार डा. राजाराम सुवेद्धीले बहादुर शाहको पालामा पाल्पाली सेनराज्यलाई गोर्खाली फौजले जितेपछि राजखलकका सबै पुरुष सदस्यलाई खोजी खोजी मारेको उल्लेख गरेका छन् । जसमध्ये एक सानो बालकलाई बालिका भन्ने ठानेर छोडिएको र ती बालक सहित उनकी आमा गुल्मीको डाँडाकटेरी क्षेत्रको जंगलमा अलप भएको उल्लेख गर्दै इतिहासकार डा. सुवेद्धीले भनेका छन् –‘ तिनै बालकका सन्ततीहरु आँफूलाई सेनवलीका रुपमा चिनाउन थाले ।’ सूर्यबहादुर सेनले पनि आफ्नो पुस्तकका यसबारे लामो चर्चा गरेका छन् । तर राजखलकको त्यो एउटा विउ बाहेक अन्य सेनहरु खोई त ? कहाँ गए त ? सयौं वर्ष बैभवका साथ शासन गर्ने सेनहरुको जनसंख्या यतिबेला नेपालमै कम्तिमा १० लाख भन्दा माथि हुनु पर्ने होइन र ? तर सेनहरुको जनसंख्या १० हजार पनि छैन ।

थप अध्ययन तथा अनुसन्धान गर्दै जाँदा, किंवदन्तीहरु सुन्दै जाँदा धेरै कुरा खुल्न थालेको छ । पाल्पालाई गोर्खालीहरुले जितेपछि आफ्नो जातीय पहिचान दिँदा जिउ ज्यान, तथा सम्पत्ति माथि नै खतरा हुने अवस्था आएकोले धेरै जसो सेनहरु जहाँ जुन जातिको बाहुल्यता छ , त्यहीँ समाहित भए । यस क्रममा केही सेनहरु मगरमा र केही सेनहरु क्षेत्रीमा रुपान्तरण भए । केही सेनहरुलाई दास बनाइयो । केही सेनहरु राज्यको पहँच भन्दा टाढा जंगलमा लुक्न थाले । साह्रा सम्पत्ति लुटिएकोले केही सेनहरु अरुको सेवक बनेर बसे । जसमध्ये एकथरी बाग्लुङ क्षेत्रको भुजेला जंगलमा लुकेर केही वर्ष जिवोकोपार्जन गर्दै छुट्टै सभ्यता कायम गरे । जो भुजेल जातका नामले चिनिए । उनीहरु जनजाति हुन् या खस हुन् ? भन्ने पहिचान हरायो । खस र जनजातिको मिश्रत जातका रुपमा उनीहरुलाई ‘खबास’ बनाइयो । त्यतिबेला बाहुनले पानी चल्ने जात विवाह गरेपछि उसका सन्ततीलाई खत्रीको जातीय पहिचान दिन थालियो । भुजेलले खस स्त्री बिबाह गरेपछि पैदा हुने सन्तानलाई ‘खवास’ जातीय पहिचान दिन थालियो । पछि भुजेल मात्रै होइन जुनसुकै जनजातिले खस स्त्री बिवाह गरेपछि उसलाई खबास जातीय पहिचान दिन थालिएको प्रा डा जगमान गुरुङको भनाई छ ।

खत्रीलाई क्षेत्रीमा मिसाइए जस्तै खवासलाई भुजेलमा मिसाइयो । यसरी सेन वंशी भुजेल भित्र खवास, घर्ती र निशेल गरी तीनवटा उपजात भए । सेन वंशी भुजेल भित्रका यी तीन उपजातहरुमध्ये खबासहरुको राज्य सत्तामा पहुँच हुनु स्वभाविकै थियो । किनकी उनीहरुको सत्तामा नसनाता जोडिएको थियो । तर निशेल र घर्तीहरुको अवस्था भने झन झन खराव हुँदै गयो । चन्द्रशमशेरले दास प्रथा उन्मुलन नगरेसम्म घर्तीहरुले मानवीय जिवन यापन गर्न पाएनन् । दास प्रथा उन्मुलन पछि धेरै जसो घर्तीहरुले आँफूलाई क्षेत्रीमा रुपान्तरण गरे । धेरै जसोले घर्ती–क्षेत्री लेख्न थाले , केहीले थापा लेख्न थाले । पाँच वर्ष अघि खिलराज रेग्मीको सरकारमा कृषि मन्त्री बनेका टेकबहादुर घर्तीले मन्त्री हुनु अघिसम्म थापा नै लेख्थे । उनका नातागोता सबै क्षेत्री नै छन् । तर मन्त्री हुनका लागि मात्रै उनले आफ्नो बास्तविक जातिय पहिचान खुलाए । जातीय पहिचान खुलाउन नै अप्ठेरो मान्नु पर्ने अवस्था आएका कारण घर्तीको संख्या पनि धेरै कम छ ।
तर खवासहरु भने त्यतिबेला पाँडे र थापा सरह नै राजदरवारमा हर्ता कर्ता थिए । गर्भयो खवास र त्रिभुवन खवास आधुनिक शाह राजदरबारका विस्वास पात्र थिए र यिनीहरू सैनिक कमान्डको उच्च पदाधिकारी थिए । गगनसिंह खवास शक्तिको हिसाबले राजा राजेन्द्र र चौतरिया प्रधानमन्त्री फत्तेजङ शाहको भन्दा कम थिएनन् । यिनको मातहतमा रानी राज्यलक्ष्मी शाहबाट सात रेजिमेन्टको सेना बक्स भएकोे थियो । किनकी आफ्ना माइती सेनहरु खवासका रुपमा दरवारमा आएको रानीलाई थाह थियो । गगनसिंह र रानी राज्यलक्ष्मी बीच चेली माइतीको संवन्ध थियो । उनीहरु देशलाई कसरी सम्पन्न बनाउने ? बलियो बनाउने ? भन्ने सन्दर्भमा गोप्य छलफल गर्थे । पाँडे र थापाहरुको कलहले मुलुक तहस नहस भएको कुरामा गगनसिंह जानकार थिए । उनीहरुले आँफूलाई बलियो बनाउन अंग्रेजहरुको चाकरी गर्न थालेको सूचना पनि गगन सिंहले आफ्नो संयन्त्र मार्फत पाइसकेका थिए । गगनसिंह रहेसम्म नेपालमा आफ्नोमिसन सफल नहुने ठहरमा पुगेका अंग्रेजहरुले भित्रभित्रै षड्यन्त्र गरेर थापा खलकका भाञ्जा जंगबहादुरलाई शक्ति सम्पन्न बनाए । तर निरंकुश शासन गर्ने महत्वकांक्षा बोकेका जंगबहादुरले आफ्नो बाटोको मुख्य तगारो गगनसिंहलाई देखे । गगनसिंह रहे सम्म आँफु निरंकुश शासक बन्न नसक्ने ठहरमा जंगबहादुर पुगे । तर रानीका धेरै नै विस्वासपात्र भएकोले गगनसिंहलाई सिध्याउन सजिलो थिएन । चतुर जंगबहादुरले गगनसिंह र रानीवीच यौनसम्वन्ध हुने गरेको प्रचार गरे । जबकी यीनीहरुको संवन्ध भनेको चेली माइतीको थियो । त्यतिबेलाका भारदारहरु जंगबहादुरको लहैलहैमा लागे । गगन सिंह काटिए । रानीलाई देश निकाला गरियो । भन्डारखाल पर्वमा राजा रानीलाई पन्डित विश्वराज पान्डेले ठुलो धोका दिएकोले गगनसिँह खवासको पुत्र बजिरसिँह खवासलाई भागेर पश्चिम सिलगुडि जानु परेको थियो । गगनसिँहको हत्या पछि रानी राज्यलक्ष्मी शाहले तुरुन्तै राज्यको ढुकुटीको साँचो गगन सिंहका छोरा बजिरसिंह खवासलाई दिएकी थिइन ।

भण्डारखाल पर्व लगत्तै जंगबहदुरले विक्रम संवत १८६० चैत ३ गते पुर्वमन्त्री भिम खवास (टलक्सारी ) र यिनका एक छोरालाई विष्णुमती नदिमा काटी मारिदिए । अर्को एक छोरालाई चोभार टौदहमा लगि डुबाईए । अर्को एक छोरालाई खुट्टामा पासो लगाई उधोमुन्टो पारि रुखमा झुन्ड्याएर छाउनिमा तीन दिनसम्म राख्दा पनि मरेनन र पछि त्यहीं नै काटिए । सुब्बा शंखधर खवासलाई खाडलमा माटोले कुमसम्म आउने गरी पुरी कपाललाई सल्लाको खोटोमा लपेटेर आगो लगाई मारिदिए ।

जंगबहादुरको क्रुरता यतिमा मात्रै सीमित भएन । उनले मुलुकी ऐन जारी गरेर क्षेत्री सरहको भुजेल जातिलाई नै मतवालीको सूचिमा राखिदिए । मतवालीको सूचिमा पनि अझ कथित तल्लो दर्जा अर्थात मासिन्या मतवालीको सूचिमा राखिदिए । मासिन्याको अर्थ हो–‘ राज्य संयन्त्रका कुनै पनि पदमा योग्य नहुने ।’ आँफूले गरेको नरसंहारको बदला भुजेलहरुले कुनै बेला लिनसक्ने डरका कारण जंगबहादुरले मुलुकी ऐनमै निशेधको व्यवस्था गरिदिए । भुजेलको एउटा उपजात निशेल यही निशेध शब्दको अपभ्रंश हो ।

भूजेल जातिको कत्लेआम बहादुर शाहको पालामा भएको पहिलो र जंगबहादुरको पालामा भएको दोस्रो हो भन्ने गरिन्छ , तर बहादुर शाहको पाला भन्दा पनि करिव ५ सय वर्ष अघि भुजेल जातिले पहिलो कत्लेआम बेहोरेको इतिहास छ ।
भुजेल जातिको मौखिक इतिहास मिथक, श्रुतिकथाहरुको आधारमा अध्ययन गर्दा ढोरपाटन क्षेत्रमा रहेर २२ पुस्ताले राज्य गरेको पाईन्छ । १३ औं शताव्दीको मध्यतिर बाईसे राज्यको उदयसँंगै भुजेल राज्यको अस्तित्व समाप्त भएको देखिन्छ । वि.स. १३७२ सम्म भुजेलहरुले आफ्नो छुट्टै राज्यको संचालन गरेको विविन्न अध्ययन अनुसन्धानले देखाएको छ । गलकोट र रुकुम राज्यका संस्थापक राजा डुगरसिंह मल्ल समालाका सन्तति द्वारा भुजेल राज्यको समाप्त पारिएको थियो । राजकुट नजिकै १८२५ मिटरको उचाईमा रहेको अर्नाकोटमा भुजेलहरुको राज्यको कोत रहेको इतिहासविदहरु बताउछन । समय र परिस्थिति अनुसार युद्धमा पराजय पश्चात् यो जातिले दुई विकल्प मध्ये एकलाई रोज्नु त्यसबेलाको वाध्यता थियो । एउटा विजयी राज्यसत्ताले आफुमाथी लादेका विभेदलाई स्विकार्नु थियो भने अर्को आफ्नो सुरक्षाका निम्ति थातथलो त्यागी अन्यत्र पलायन हुनु ।

अन्यत्र पलायन भएका एकथरी भुजेलले पाल्पामा अर्को राज्य खडा गरे । जो सेन राज्यका रुपमा पूर्वमा बंगालको खाडीसम्म, दक्षिणमा गंगानदीसम्म उत्तरमा २२ से २४ से राज्यसम्म र उत्तर पूर्वमा नेपाल राज्यसम्म विस्तार भयो । यस भुखण्डमा यति ठूलो साम्राज्य न त्यस अघि थियो , न त्यस पछि छ ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.