कर्मचारी अभावमा सेवा प्रभावित

| 2022 Jul 07 | 06:59 am 1745

दाेलखा, असार २३ः जिल्ला प्रशासन कार्यालय दोलखामा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् । कार्यालयका प्रमुख पाँच फाँटमा काम गर्ने नायब सुब्बा नहुँदा सेवा प्रदानमा सहज बनेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताए ।

उनका अनुसार प्रशासन, मुद्दा, राहदानी तथा जिन्सी, नागरिकता तथा प्रतिलिपि, अभिलेखलगायतका पाँच नायब सुब्बा दरबन्दीमध्ये एक जना मात्र छन् । सबै फाँटको काम एक जनाले भ्याउनुपरेको छ । खरिदार तीनमध्ये दुई खाली छ । कम्प्युटर अपरेटरहरू सिँगटी इलाका कार्यालय र कारागार शाखाबाट तानेर काम चलाउनुपरेको छ । पदपूर्तिका लागि माथिल्लो निकायमा बारम्बार ताकेता तथा आग्रह भइरहेको छ । लोकसेवा आयोगबाट नयाँ नआएसम्म अर्को व्यवस्था हुन नसक्ने जवाफ आएको उनले गुनासो गरे ।

नयाँ र प्रतिलिपि गरी दैनिक १६० वटा नागरिकता बन्ने गरेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने त्यत्तिकै हुन्छन् । राष्ट्रिय परिचयपत्र नबनी राहदानी नपाउने व्यवस्थाले गर्दा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या पनि उत्तिकै छ । राष्ट्रिय परिचयपत्रका लागि पुरानो नागरिकताले काम नदिने हुँदा प्रतिलिपि लिने सङ्ख्या पनि बढ्न थालेको उनले स्पष्ट पारे ।

सहजताका लागि टोकनको व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, “बिहानदेखि नै लाम लाग्ने गर्दछ । सहजका लागि ५ बजेपछि पनि सबै सेवा प्रदान गरिएको छ । कहिले त राति ८ बजेसम्म पनि सेवा दिने गरिएको छ । परिश्रमका साथ आएकालाई सेवा दिएरै पठाउने गरिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.