कर्तव्य ज्यान मुद्दामा संलग्न व्यक्ति बहराइनबाट पक्राउ

| 2022 Mar 08 | 06:44 pm 1405

काठमाडौं, फागुन २४ः कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् ।

२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएको र उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेका थिए ।

उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने उक्त शाखाले जनाएको छ ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय २६ ट्याब्लेट, ट्रामाडोल ९० क्याप्सुल र कोरेक्स २ बोतल सहित सप्तरी सिसुवा नगरपालिका-१ बस्ने १९ वर्षीय प्रदिप साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजदेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.०३-००१ ख ०७२३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको   हो ।

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-५ गणेशटार सुइटेखोलाबाट करिब ३१ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय धिरज राई र ५१ वर्षीय युवराज राई रहेका छन् । उक्त स्थानमा लागूऔषध कारोबार भइहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली, गोजन्जोर गाउँपालिका-५ खनियाखर्कबाट करिब १ केजी ९ सय २४ ग्राम अवैध लागूऔषध सहित कमलामाई नगरपालिका-६ रातामाटा बस्ने १९ वर्षीय सन्दिप बर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.४ च ३२६८ नम्बरको बोलेरो गाडीलाई प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.