उदयपुर, मंसिर ५ : बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा उदयपुर जिल्ला अदालतले एक युवकलाई आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोकेका छन भने पीडितलाई एक लाख ५० हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
तामाङले गत असार १९ गते बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए । २२ गते असारमा पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो ।