दाङ, वैशाख १२: अवैध रुपमा कर छली गरी ल्याएका कपडा बिक्री गर्ने भारतीय व्यापारीलाई प्रहरीले उक्राउ गरेको छ । व्यापार व्यसाय सम्बन्धित निकायमा दर्ता नगरेर राज्यलाई कर छल्दै र स्थानीय व्यापारीलाई घाटा हुने काम गरेको भन्दै घुम्ती व्यापारीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो ।
विभिन्न कसिमका तन्ना, ब्लयाङ्केट, गलैचा, कुर्ता सुरुवाल गरी एक सय १४ थान काँचो कपडासहित आठजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंह, देउखुरी उद्योग वाणिज्य संघ, पत्रकारको रोहवरमा अवैधध काम नगर्ने शर्तमा कागज बनाएर नेपालगंज हुँदै भारत फर्काइएको छ ।
ती घुमन्ते व्यापारीले काँचो कपडाहरु भारतीय बजारबाट ल्याएको र कैलाली नेपालगंजका विभिन्न कपडा पसलका नाममा बिल बनाएर ल्याएका छन् । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राज्यलाई कर छलेर अवैध तरिकाले सस्तो मुल्यमा बेच्ने गर्दा स्थानीय व्यापारीलाई नोक्सान हुने गरेको जानकारी दिए ।
सस्तो मुल्यमा नक्कली सामान बिक्री गर्ने, अवैध व्यापार प्रायजसो गाउँ केन्द्रित हुने गर्दा ग्राहक बजार आउने बाटो नै बन्द भएको व्यापारीहरुको भनाइ छ । जसले गर्दा बजारका व्यवसायी मारमा परेका छन् । देउखुरी उद्योग बाणिज्य संघले अबदेखि लमही बजारमा अबैध व्यापारलाई बन्देज लगाउने भएको छ ।