कम्युनिस्टले जनताको हित कहिल्यै गर्न सक्दैनन्: देउवा

| 2018 Jul 22 | 12:49 pm 1846

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टले जनताको हित कहिल्यै गर्न नसक्ने बताएका छन्।

३६ औं बीपी स्मृति दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विपिले कम्युनिस्टलार्इ पहिले नै चिनिसकेको र कम्यूनिसटहरुसँग नमिल्न सुझाएको उल्लेख गरे। उनले भने, ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ। तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताको हितका लागि कहिल्यै काम गर्न सक्नदैनन र जनताका लागि हुँदै होइनन् ।’

देउवालले काठमाडौंको विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकोप्रति लक्षित गर्दै कम्यूनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताएका छन्।

‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’ ‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन्,’ सभापति देउवाले अघि भने, ‘उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’

“हामी प्रजातन्त्रवादी हौं । हिजो पञ्चायतसँग लड्यौं । राणासँग लड्यौं । कम्युनिष्टसँग लड्न परे हामी लड्ने छौं । कम्युनिष्टसँग लड्नका लागि सबैलाई एकजुट हुन आग्रह गर्दछु,’’ उनले भने।
डा. गोविन्द केसीले उठाएका माग जायज भएको दाबी गर्दै कांग्रेस सभापति देउवाले केसीका माग सरकारले पूरा गर्नुपर्ने माग दोहोर्याए । ‘‘डा. केसीको माग जायज हो । मागमा हाम्रो समर्थन छ । यसकारण डा. केसीको जायज माग सम्बोधन हुनुपर्छ । उहाँलाई बचाउनुपर्छ । हामी सबै एक हुनुपर्छ,’ देउवाले भने ।

अनशनमा बसेको १० औं दिनमा वार्ताका लागि बोलाएको स्मरण गर्दै उनले दलहरुकै सहमतिमा ल्याएको अध्यादेशलाई चिकित्सा शिक्षा विधेयकका रुपमा पास नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए। सभापति देउवाले भ्रष्टाचार गर्नका लागि सरकारले आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई बेवास्ता गरिरहेको दाबीसमेत गरे ।

‘तथाकथित प्राइभेट कलेजहरुलाई सम्बन्धन दिन पैसा उठाएर खाइरहेका कारण अध्यादेशलाई बेवास्ता गरिएको हो। अध्यादेश विधेयकका रुपमा पास नभएसम्म आन्दोलन रोकिने छैन,’ कांग्रेस सभापति देउवाले चेतावनीयुक्त भाषामा भने।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार दमनकारी हतियार प्रयोग गरेर सत्ता सञ्चालन गरिरहेको आरोप लगाए । पौडेलले सरकार दमनकारी हतियार प्रयोग गरेर सत्ता सञ्चालन गरिरहेको आरोप लगाएका हुन्। उनले सरकारले सत्ता सञ्चालन गर्न दमनकारी हतियार प्रयोग गरे पनि धेरै दिन नटिक्नेसमेत दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.