कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८ शुभारम्भ

रिपोर्ट नेपाल | 2022 Feb 23 | 04:54 pm 1773

काठमाडाैं, फागुन ११ः मिति २०७८ फागुन ११ गतेदेखि १२ गतेसम्म जंगी अड्डामा सञ्चालन हुने दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’को आज सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको छ । उक्त कार्यक्रममा प्रधान सेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै कमाण्ड हे.क्वा.का कमाण्ड सेनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा शुभारम्भ मन्तव्य राख्दै सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूले महाशिवरात्री तथा सेना दिवस-२०७८ को पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै देशको संवेदनशील भू-राजनैतिक अवस्थितीको कारण अन्तर्राष्ट्रिय र क्षेत्रिय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि देशको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका थिए ।

मन्तव्यको क्रममा उनले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडाैं-तराई/मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरहरुको निर्माणमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उक्त आयोजनाहरु समयमै सम्पन्न गर्न नेपाली सेना सक्षम रहेको बताए थिए । साथै, नेपाली सेनाको पहलकदमीमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल संचालनमार्फत भविष्यमा यस क्षेत्रमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरु उत्पादन हुने र नेपाली सेना अन्तर्गत संचालित राष्ट्रिय गौरवका आयोजना लगायत महत्वपूर्ण आयोजनाहरुको निर्माणको लागि आवश्यक पर्ने श्रोत साधनको अभाव हुन नदिने विश्वास समेत व्यक्त गर्नु भएको थियो । यसका अलावा, उनले बंकरदेखि व्यारेक कार्यक्रम यथासिघ्र सम्पन्न गरी नेपाली सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्न समेत सरकार प्रतिवद्ध रहेको बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरस: पालना गर्न कटिबद्ध रहेको जानकारी गराउँदै प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहीरहने छ भन्ने विश्वास दिलाएका थिए ।

यसका साथै, उनले, देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले
निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको जानकारी समेत गराएका थिए ।

यस समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात् प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको बनइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.