कञ्चनपुर घटनाको खुलासा चाँडै गरिने गृहमन्त्रीको आश्वासन

| 2018 Aug 29 | 07:55 pm 1206

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताएका छन् । पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने बताएका हुन् ।

महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृहमन्त्रालय पुगेको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको बताए । उनले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारवाहीको दायरामा ल्याइने बाचा गरे ।

उनले भने, ‘अनियन्त्रित मदिराको बिक्रीवितरण र लागुपदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन् । त्यसैले पहिला ती कारणको न्यूनीकरण गर्न जरुरी देखिएको छ ।’

बलात्कारका घटनामा वृद्धि किन भयो भन्ने सवालको जवाफमा उनले पहिले बलात्कारजस्ता जघन्य अपराधका घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैन्थ्यो । तर अहिले मिडियामा बढी आउन थालेकोले घटना बढेको हुन् कि भन्ने जस्तो देखिएको भन्ने तर्क गरे ।

कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानबिन समितिमार्फत छानबिन अघि बढाइसकेकोले केही दिनमै सत्यतथ्य आउने विश्वास उनले व्यक्त गरे ।

सञ्जालको टोलीले पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलाको बलात्कार, हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारवाहीको दायरमा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.