कक्षा १२ को नतिजा प्रकाशन ५१ प्रतिशत पास

| 2023 Aug 15 | 07:05 pm 2073

काठमाडौँ, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले  गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न कक्षा १२ को वार्षिक परीक्षाको नतिजा  सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन् ।

यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । साथै यो वर्ष गत वर्षको तुलनामा केही सुधार भएको पनि बताए ।

आज नतिजा प्रकाशन गर्नका लागि बोर्डले दिउँसो बैठक बोलाएको थियो ।  नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि बोर्डले सार्वजनिक गरेको हो ।

परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेडेड (एनजी) हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

सोही आधारमा अब विद्यार्थीले जति विषयमा एनजी आएको छ त्यति विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् । यसअघि दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । गत वर्ष उक्त निर्देशिका संशोधन गरेर जति विषयमा एनजी आएको छ त्यतिको मात्र परीक्षा दिनपाउने व्यवस्था गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.