काठमाडौं, साउन २: प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति असन्तुष्टि जनाएपछि छानविनको काम रोकिएको छ।
थप छानविन गर्दा सत्तापक्षकै केही ठुला नेताहरु तानिने आशंका बढेपछि छानविन रोकिएको स्रोतले जनाएको छ। सरकारले २०७४ चैत १९ गते गृह मन्त्रालयका सहसचिव पौडेलको संयोजकत्वमा गठन गरेको सो समितिको म्याद असार मसान्तमा सकिएको छ। गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलसहितले समितिको कामकारबाहीबारे जानकारी गराइसकेको छ।
प्रधानमन्त्रीसँग भएको करिब दुई घन्टाको बिफ्रिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो। तर समितिको उक्त ‘बिफ्रिङ’ मा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
उनका अनुसार प्रधानमन्त्री चीन भ्रमणमा जानुअघिसम्म अनुसन्धान समितिको कामकारबाहीबारे सन्तुष्ट थिए। चीन भ्रमणपछि अनुसन्धान समितिसँग प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि हामी निरास भयौं, जुन तहसम्म अनुसन्धान हुनुपथ्र्यो त्यहाँसम्म अझै पुग्न सकिएको छैन’, अनुसन्धान समितिका एक सदस्यले भने।
सुरुमा प्रधानमन्त्री ओलीले सुन तस्करीमा मुछिएका कसैलाई पनि छोड्न नहुने निर्देशन दिएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले थप केही राजनीतिक व्यक्तिहरलार्इ पक्राउ गरेर अनुसन्धान अघि बढाउनु पर्ने बताएपछि प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।
सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्दै जाँदा राजनीतिक नेतृत्वसँग निकट रहेर काम गरिरहेका केही व्यापारी र शक्ति दलालका रुपमा चिनिएका व्यक्तिहरूको समेत संलग्नताको आशंका गर्दै गिरफ्तार गर्नुपर्ने निष्कर्षमा समिति पुगेको थियो। तर, थप अनुसन्धानका लागि समितिको म्याद थप्नुको साटो अबको अनुसन्धान प्रकृया सिआर्इबीको जिम्मा लगाइएको छ।
अनुसन्धान समितिले विदेशमा बसी सुनको अवैध कारोबार गर्नेमा काले भनिने किशन अग्रवाल, हरि खड्का भनिने हरिशरण खड्का, केशव चापागाईं, अर्जुन खरेल, सञ्जय भनिने दुर्गाप्रसाद खरेल र राजन पन्थ तथा नेपालमै रहेका विमल पोद्दारका व्यापारिक साझेदारलाई समेत पक्राउ गर्ने तयारी गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा तीन हजार आठ सय केजी तस्करीको सुन भित्र्याउने चूडामणि उप्रेती ‘गोरे’ ले यसअघि पक्राउ परेकाहरुको सहयोगमा आफूले सुन तस्करी गरेको स्वीकार गरेका छन्।