ओलीको अन्योल !   प्रचण्डको प्रहार !

रिपोर्ट नेपाल | 2019 Mar 28 | 09:23 am 2333

विशेष ब्यूरो
भनिन्छ “रङ डिसिजन इज बेटर देन नो डिसिजन” सत्तारुढदल नेकपाका कार्यकर्ताहरुको मुखमा आजकाल माथिको युक्ति छ्यापछ्याप्ती सुन्न पाइन्छ ।

देशको मात्रै नभएर एसियाकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको पगरी गुछ्दै, पार्टी एकीकरणको करिब २ वर्ष पुग्दै गर्दा परिस्थितिले ३६० डिग्रीको कोण बनाएर पार्टी विघटनको स्थितिमा आइपुगेको छ ।

पार्टी एकीकरणको घोषणा सहित तालमेलमा गरिएको प्रदेश र संघिय चुनावी तालमेलको परिणामले दुबै तहको सरकारको पोजीसनीङ त शसक्त भयो तर अपेक्षाकृत उपलब्धी र परिवर्तनको न्यूनतम आभाष समेत दिन नसकेको दुई तिहाइको कम्युनिष्ट पार्टी अहिले आफ्नै संगठन ध्वस्त बनाउन उद्दत देखिन्छ ।

एक प्रकारले भन्ने हो भने सत्तारुढ नेकपा स्वयंम विघटनको जस्तो अवस्थाबाट गुज्रीरहेको छ । ओली निकट केही उनका गुटका प्रतिनिधिहरुको सत्तामा भित्रैसम्म राम्रो एक्सेस देखिएता पनि ठूलो नेकपाको कार्यकर्ता पंक्ति भने भित्रभित्र निराशा र आक्रोसले विस्फोटनको स्थिति सृजना हुँदै गएको छ ।

एकीकरण घोषणा पश्चात विवाद र असन्तुस्टीबीच उपल्लो तहका केही कमिटि निर्माण भएता पनि तल्लो तहका आ–आफ्ना कमिटी विघटित अवस्थामा छन्, भने तल्लो कमिटी निर्माण अवरुद्ध जस्तै छ ।

बनिसकेको कमिटीका सदस्य र पदाधिकारीहरुको कार्य विभाजन र जिम्मेवारी नतोक्नु र तल्ला कमिटी निर्माणमा उदासिन हुनुमा प्रधानमन्त्री ओलीको स्वार्थले काम गरेको बुझाई स्पष्ट देख्न सकिन्छ ।

यस्तो परिस्थितिले प्रतिपक्ष र दुष्मन शक्ति अनि धमिलो पानीमा माछा मार्न खोज्नेलाई बल पुग्ने हुनाले तुरुन्त एउटा निर्णय गरेर पार्टीको गेयर चेन्ज गर्न अर्का अध्यक्ष प्रचण्डमाथि दबाव बढी रहेको सहजै अनुमान गर्न सकिन्छ ।

प्रचण्ड स्वयम् भने केही समयदेखि पारिवारीक समस्या झेलीरहेता पनि अव भने त्यो सुविधा पनि उनलाई रहने छैन । विज्ञान प्रविधिको उच्चतम आविष्कार सहितको सबै भन्दा हाइटेक अस्पतालसम्मको यात्राले अव पारिवारीक स्वास्थ्यको झमेलाबाट पनि उनले राहत पाउनेछन् ।समाचार अनुसार पत्नी सीता दाहालको स्थिति सकारात्मक र सुधारोन्मुख छ ।

अमेरिका उपचार भ्रमणलाई आन्तरिक रुपमा आफ्नो स्वार्थमा रणनैतीक हिसावले प्रयोग गर्न माहिर प्रचण्डले यसपटक पनि विविध र बहुआयामिक ढंगले अमेरिका भ्रमणलाई अवसरको रुपमा प्रयोग गर्दै उच्च आत्मबल र उर्जासहित काठमाडौं अवतरण गरेको केही घण्टा पछि नै नेपालको राजनीति तरंगित गर्ने गरी आक्रामक ढंगले अघि बढ्ने विशेष स्रोतको दावी छ ।

सरकार र पार्टी दुबैको अन्तिम कमाण्ड घुमाउरो पाराले एकल नेतृत्वको अभ्यास गरिरहेका ओलीले भने अव सन्तुलन सम्हाल्न सक्ने हैसियतमा कायम गर्ने छैनन् । ओलीका सामु अव इन्तु, किन्तु, परन्तु कुनै पनि बहाना नगरी पार्टीको पूर्ण जिम्मेवारी प्रचण्डलाई सुम्पिएर पार्टीको आन्तरिक जीवनलाई पुर्नताजकी दिन बाध्य पारिने छ भने सरकारलाई अव माथिल्लो गेयर चेन्ज गरेर जनअपेक्षा अनुरुप विकास र समृद्धीको चुनावी घोषणापत्र र प्रतिबद्धतामा आफुलाई प्रमणित गर्दै राजनेताको बाटो समाउने सुविधा र अवसर पनि उनका सामु छ ।

यसरी नै दुबै अध्यक्षको कार्य विभाजन र सम्मानजनक सम्बेधान भएमा पार्टी बुलेट ट्रेनको गतिमा स्थाइत्व र समृद्धीको दिशामा अधि बढ्ने छ र दसकौं देखिको आम जनताको आशा र विश्वास पनि आर्जन गर्दै देशले काँचुली फेर्ने छ । यो सरकार र पार्टीलाई असफल हुने छुट र अधिकारको विकल्प छैन ।

निर्विकल्प यात्रामाहिडेको युद्धको सिपाही जस्तो अवस्थाको परिस्थितिबाट थोरै पनि चिप्लिन पुग्यो भने स्थिति सम्हालेर सम्हाल्न सकिने छैन । लाखौं देशबासीले विकास र समृद्धीको नारालाई अनुमोदन गर्दै दिएको दुई तिहाईको जनमत पार्टी भित्रका प्रतिद्वन्दी गुट र उपगुट तथा आफ्ना र विरानालाई छुट्याई दण्डीत गर्ने औजारको रुपमा प्रयोग गर्ने धृष्टता यदी कसैले गर्छ भने इतिहास साक्षी छ, त्यो दिवास्वप्न र औचित्यहिन मात्रै होइन इतिहासको कठघरमा उभिएर दण्डीत हुने समय धेरै टाढा कुर्नुपर्ने छैन ।

दुई तिहाइको सवल सक्षम सरकार तर्फ हेरिरहेका आशातित आँखाहरुले फेरि कुनै विखण्डनकारी वा प्रतिवन्धीतलाई पछ्याउनु पर्ने दिन नआओस, “दुई छट्टु चोर” र “मानिस पोल्ने पेशाका दुई पुस्ता” लोक कथा जस्तै स्थिति नहोस्, दुई कयाप्टेनलाई शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.