ओली सरकारले ५ महिनामा बाँड्‍यो ७ करोड, नियमावलीविपरीत पुरस्कार बाँड्दै प्रहरी

| 2018 Jul 25 | 07:15 am 1818

काठमाडौं, साउन ९: सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।

प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभाबी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेका केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।

ओलीले दोस्रोपटक सरकारको नेतृत्व २०७४ फागुन ३ मा सम्हालेका थिए। अर्थ मन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ ।

पाँच महिनामा कुल ६ करोड ८४ लाख ३ हजार १ सय ७७ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायताका नाममा वितरण भएको छ। सरकारले पछिल्लोपटक असारमा फरार अभियुक्त वृजकिशोर गिरीको औषधि उपचार गर्दा लागेको खर्चबापत सम्बन्धित निकायलाई २ लाख ८८ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ। यस्तै असार ३ गते मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौंको सेल्टर आश्रमलाई आर्थिक सहायता उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयका नाममा २० लाख ५८ हजार ३ सय १६ रुपैयाँ निकासा गरेको छ।

त्यसैगरी प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले विभिन्न कर्पोरेट संस्थाको सहयोगमा ५० हजार राशिसम्मको पुरस्कार वितरण गर्न थालेपछि प्रधान कार्यालयले नियमन गर्न थालेको हो।

काठमाडौं परिसरले बंगलादेश बैंकसँग र ललितपुर पसिरले सिटिजन्स् बैकसँग सम्झौता गरी प्रहरी नियमावलीविपरीत पुरस्कार सुरुआत गर्न थालेका थिए। अन्तर्राष्ट्रिय प्रचलनअनुसार अण्डर कमाण्डलाई उत्प्रेरित गर्न पुरस्कार वितरण गर्न थालिएको बताए पनि प्रहरी नियमावली विपरीत भएपछि प्रधान कार्यालयले त्यसलाई नियमन गरी प्रहरी नियमावलीअर्न्तगत ल्याउन तयारी गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.