ओखलढुङ्गामा जीप दुर्घटना : दुईको मृत्यु, तीनको अवस्था गम्भीर

| 2018 Jul 04 | 05:06 pm 4096

ओखलढुङ्गा,  २० असार :  मुलखर्कबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको सवारी च्यानमको भालदिप भन्ने ठाउँमा दुर्घटना भएको छ । यसरी जिप दुर्घटना हुँदा जीपमा सवार २ जनाको मृत्यु भएको छ, भने ३ जना गम्भीर घाईते भएका छन् ।

बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।

घाईतेहरुको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि उनले जानकारी दिए । मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ ।

दुर्घटनामा परी घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ । घाईते तीनैजनाको अवस्था गम्भीर रहेको छ ।

घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको नेतृत्वमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक अनन्नराम शर्माले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगेपछि घटनाको बारेमा विस्तृत जानकारी आउने पनि प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्कविहिन रहेको बताईएको छ । जीप रोकेर बाकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ ।

जीप दुर्घटनामा परि मृत्यु भएका र घाईते भएका बाहेक अरु यात्रुहरु खाजा खान बाहिर निस्केको बताईएको छ । यद्धपी घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.