ऐतिहासिक बस्तीलाई सांस्कृतिक क्षेत्र घोषणा गरिने

| 2021 Sep 01 | 07:57 am 1857

काठमाडौं, भदाै १६ः कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न ऐतिहासिक बस्तीलाई सांस्कृतिक क्षेत्र घोषणा गर्ने तयारी अघि बढाएको छ ।

नगरपालिकाभित्रका कीर्तिपुर, पांगा, नगां, च्वबाहाः, भाजंगाः र गांचा क्षेत्र गरी ६ वटा ऐतिहासिक बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने तयारी अघि बढाएको मेयर रमेश महर्जनले बताएका छन् ।

सांस्कृतिक नगर घोषणासम्बन्धी अवधारणा, प्रक्रियालगायत विषय समेटिएर नगरपालिकाले सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७८ राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । सोहीअनुरुप तयारी गर्दै अघि बढ्ने बताउँदै मेयर महर्जनले भने– ‘सांस्कृतिक नगर घोषणाका लागि ऐन महत्व दस्तावेज हो । यसैमा टेकेर आउँदो दशैंसम्ममा घोषणा गर्ने लक्ष्य रहेको छ ।’

कीर्तिपुरका बुद्धिजीवी, सांस्कृतिक अधिकारकर्मीलगायतले कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक नगरी घोषणा गर्नुपर्ने माग गर्दै आएकोमा नगरपालिकाले सो तयारी अघि बढाएको हो । कीर्तिपुरको नवौं नगर सभाले सांस्कृतिक क्षेत्र घोषणा गर्ने र त्यससम्बन्धी ऐन राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

ऐन राजपत्रमा प्रकाशित गर्नुपूर्व नगरका बुद्धिजीवी, सांस्कृतिक अधिकारकर्मीले नगरलाई सांस्कृतिक नगरी घोषणा गर्नुपर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यस सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन नगरपालिकाले श्रीकृष्ण महर्जन (कीर्तिपुर) को संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । सदस्यहरूमा रामभोला महर्जन (पांगा), उज्ज्वल महर्जन (चोभार), सुवर्ण महर्जन (नगां) र नरेश श्रेष्ठ (कीर्तिपुर) रहेका थिए । कार्यदललाई सो सम्बन्धमा अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको थियो ।

सो कार्यदलले विषय विज्ञसँग छलफल, विभिन्न स्थानीय तह अनुभवबारे अध्ययन गरी चरणबद्ध रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको थियो । कार्यदलका सदस्यले टोखा नगरपालिकामा अभ्यास गर्दै आएको सांस्कृतिक संरक्षित क्षेत्रको व्यवस्थादेखि संस्कृति सम्पदा संरक्षणका लागि भक्तपुर नगरपालिकाले गर्दै आएको कार्यबारे स्थलगत अध्ययन पनि गरेको थियो । कानुनविद्, संस्कृतिविद, सञ्चारकर्मी, संस्कृतिकर्मी लगायतसँग छलफल गर्दै कार्यदलले नगाउँ र चोभारमा सरोकारवालासँग पनि छलफल गरेको थियो । कार्यदलले कोरोना महामारीका कारण निषेधाज्ञाबीच कीर्तिपुर, पांगालगायत क्षेत्रका सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गरी सांस्कृतिक संरक्षित क्षेत्र घोषणाका लागि प्रतिवेदन बुझाइएको थियो र सोही आधारमा प्रस्तावित ऐन तर्जुमा गरिएको थियो ।

कीर्तिपुरकी उपमेयर सरस्वती खड्काले नगरपालिकाले अभ्यास गर्न खोजेको यो कार्यलाई सफल बनाउन सबैको सकारात्मक भूमिका निकै महत्वपूर्ण हुने बताइन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया