एसीसी इमर्जिङ एसिया कप : भारतसँग नेपाल ७ विकेटले पराजित

रिपोर्ट नेपाल | 2019 Nov 14 | 04:07 pm 1860

काठमाडौं, कात्तिक २८ : बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा भारतले नेपाललाई ७ विकेटले पराजित गरेको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल इमर्जिङ टिमले ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा बनाएको थियो ।

सामान्य लक्ष्य लिएर जवाफी व्याटिङमा आएको भारत इमर्जिङ टिमले ४१ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १९४ रन बनायो । भारतको तर्फबाट शनविर सिंहले ५६, अरमान जफिरले नटआउट ५१ रन बनाए ।

नेपालको तर्फबाट करण केसी, ललितनारायण राजवंशी र सुशन भारीले १/१ विकेट लिए ।पहिले ब्याटिङ गरेको नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए ।

४९ बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे । त्यस्तै नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो तर नेपालका लागि शरद भेषावाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी २४, करण केसी २०, विनोद भण्डारी पाँच तथा सोमपाल कामी र आरिफ शेख समान दुई/दुई रनमा बाहिरिए । त्यसैगरी ललितनारायण राजवंशी शून्य रनमा आउट हुँदा सुुशन भारीले दुई रन जोडे ।

भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.