एसियन गेम्सको ११ औं दिन : पदकको आश मै अल्झियो नेपाल

| 2018 Aug 29 | 06:34 am 1890

काठमाडौं, भदौ १३: इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत एघारौं दिन मंगलबार नेपालले कुनै चमत्कार गर्न सकेन्। आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले अघिल्ला ९ दिन झैँ सुन्य पदकको यात्रा कायम राख्यो।

नेपालले मंगलबार पाएको ठुलो सफलतामा प्याराग्लाइडिङमा चौथो चरण सकिदा दोस्रो हुनु रह्यो । नेपालले बुधबार अन्तिम चरणको प्रतिस्पर्धा गर्नेछ । उक्त चरण उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले पहिलो पदक जित्नेछ।

यस्तै मंगलबार नेपाली पुरुष भलिबल टोलीले मंगोलियालाई हरायो। यसबाहेक अन्य खेलमा नेपालको प्रदर्शन उच्च हुन सकेन। आजबाट कुराँसमा नेपालको चुनौती सकियो ।

नेपाल पदकको प्रतिक्षामा रहदा चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ९७ स्वर्णसहित कुल २०६ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ४३ स्वर्णसहित कुल १४२ पदक जितेको छ । ३२ स्वर्णसहित कुल ११८ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

कुराँस 

कुराँसमा नेपालको चुनौती समाप्त भएको छ । पुरुष ६६ केजीमुनिको अन्तिम ३२ को खेलमा नेपालका उपेन्द्र थापाले पाकिस्तानका खेलाडीलाई १–० ले पराजित गरे । प्रिक्वाटरफाइनलमा भने उपेन्द्र उज्वेकिस्तानका खेलाडीसंग १०–० ले हारे ।

महिलाको ५२ केजीमुनिको पहिलो चरणमा नेपालकी भगवती माझी चाइनिज ताइपेईंकी खेलाडीसंग १०–० ले पराजित भइन् ।

सेपाकताक्रो 

सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपाल भियतनामसंग २–० ले पराजित भयो । पुरुष रेगु स्पर्धामा भने नेपालको चुनौती समाप्त भएको छ ।

स्केटबोर्ड 

स्केटबोर्डको पुरुष स्ट्रिट स्पर्धामा नेपालका नेरिश थापा १५ औं भएका छन् । १८ खेलाडी सहभागी पहिलो चरणमा नेरिश १५ औं भएका हुन् ।

प्लाराग्लाइडिङ 

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोश्रो स्थानमा उक्लिएको छ । नेपालको कुल २७ सय ९८ अंक छ ।

पहिलो स्थानमा रहेको जापानको ३२ सय ९८ अंक पुगेको छ । २१ सय ९२ अंकमा दक्षिण कोरिया तेश्रो स्थानमा छ ।

सोही स्पर्धाको महिलामा नेपाल छैटौं स्थानमा छ । नेपालको २ सय १६ अंक छ । दक्षिण कोरिया पहिलो, जापान दोश्रो र आयोजक इन्डोनेसिया तेश्रो स्थानमा छन् ।

स्क्वास

नेपालले पुरुष टिम इभेन्टमा जापानसंग ३–० ले पराजित भएको छ । यसअद्धि नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग पनि ३–० ले पछि परेको थियो ।

एथलेटिक्स 

नेपालकी विश्वरुपा बुढाले १५ खेलाडी सहभागी महिला ५ हजार मिटर दौडमा १३ औं स्थान हासिल गरिन् । विश्वरुपाले निर्धारित दूरी १७ मिनेट २४.७८ सेकेन्डमा पूरा गरिन् ।

भलिबल 

पुरुष भलिबलको १२ देखि १८ औं स्थानको वरीयता निर्धारण गर्न भएको प्रतिस्पर्धामा नेपालले मंगोलियालाई २६–२८, २५–१६, ३०–२८ र २५–१९ को सेटमा पराजित गर्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.