काठमाडौं, कार्तिक १९ : युक्रेनमा एसिड आक्रमणमा परेकी एक भ्रष्टाचारविरोधी अभियन्ताकाे मृत्यु भएकाे छ । भ्रष्टाचारविराेधी अभियानकी प्रमुख रहेकी काटेरीना हान्डज्युककाे मृत्यु भएकाे हाे ।
उनीमाथि ३ महिनाअघि एसिड अाक्रमण भएकाे थियाे । जुलाई ३१ मा दक्षिणी शहर खेर्सोनमा भएको आक्रमणपछि शरीरको ४० प्रतिशत भाग डढेको थियो भने आँखामा ठूलाे क्षति पुगेकाे थियाे । युक्रेनकाे राजधानी कीएभकाे एउटा अस्पतालमा उनको ११ पटक शल्यक्रिया गरिएको थियो तर अन्तत: उनले याे संसार छाडेकी छन् ।
युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले हत्याराहरूलाई कडा सजाय दिइनुपर्ने बताएका छन् । हान्डज्युकमाथि आक्रमणकाे अाराेप लागेका ५ जना हाल हिरासतमा रहेकाे जनाइएकाे छ ।
खेर्सोन नगर परिषद्की सदस्य समेत रहेकी हान्डज्युकले गत सेप्टेम्बरमा एउटा भिडियो सार्वजनिक गर्दै युक्रेनीहरूलाई देशमा व्याप्त भ्रष्टाचारविरुद्ध लड्न लागि आग्रह गरेकी थिइन् । आइतबार उनकाे मृत्युकाे खबर अाएपछि धेरै युक्रेनीहरुले सामाजिक सञ्जालमार्फत शाेक व्यक्त गरेका छन् ।