एसर्इर्इ नतिजा फेरियो: शनिबार एउटा, आइतबार अर्कै , पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड

| 2018 Jun 25 | 06:43 am 3376

काठमाडौं, असार ११: माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो।

जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो।

मोक्षदा स्कुलकी ०३११०३२टी सिम्बोल नम्बरकी सुनिता रोकाको शनिबार एसएमएस गर्दा जिपिए ३.८५ आएको थियो। उनले आइतबार उही सिम्बोल नम्बरमा एसएमएस गर्दा जिपिए ३.९० आएको छ । ‘हिजो र आजको जिपिए फरक आयो, कुनलाई आधिकारिक मान्ने अन्योल भयो,’ रोकाले भनिन्।

अधिकांशको जिपिए बढ्यो

आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए। ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ। शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने । जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए। ‘पनिकाजस्तो जिम्मेवार निकायको विश्वसनीयतामा प्रश्न उठ्यो । पूर्ण तयारी नगरी हतारहतारमा नतिजा प्रकाशन गर्नुभन्दा केही ढिला गरेको भए बेस हुन्थ्यो,’उनले भने।

प्राविधिक त्रुटि भयो : परीक्षानियन्त्रक रेग्मी

परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने वेलामा केही त्रुटि भएका कारण समस्या आएको बताए। पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । नियन्त्रक रेग्मीले आइतबार बिहान गुनासो आएपछि अपलोड गर्दा भएको त्रुटिलाई इन्जिनियरले सच्याएको बताए। पछिल्लो नतिजा आधिकारिक भएको उनले बताए। यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ।

साधारण र प्राविधिकको नतिजा एकैपटक

०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि र १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन्। यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए। त्यसैगरी प्राविधिक धारतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी थिए । नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन्। जसमध्ये आठ हजार ७३ छात्र र ६ हजार एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा जिपिए ३.६५ देखि ४ सम्म ल्याउने १२ हजार दुई सय ८४ थिए। त्यसैगरी प्राविधिक धारमा ५ सय ३८ ले जिपिए ३.६५ देखि ४ सम्म तीन सय ४५ छात्र र एक सय ९३ छात्राले ल्याएका थिए । साधारण र प्राविधिकतर्फका एक्जाम्टेड विद्यार्थीले कुनै पनि जिपिए ३.६५ ल्याएका छैनन्।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी भन्छन्: हिजो र आजको नतिजामा फरक प-यो ।

दुई दिनमा फरक–फरक नतिजा आउने गम्भीर त्रुटि कसरी भयो ?

हिजो र आज नतिजामा फरक परेछ । रिजल्ट अपलोड गर्दा समस्या भएको हो। वेबसाइटमा सिस्टम कम्पाटाबिलिटीमा त्रुटि हुँदा नतिजामा फरक परेको हो। एनटिसीले दिएको नतिजा ठीक छ । हाम्रो वेबसाइटमा त्रुटि भएछ । बिहान गुनासो आएपछि इन्जिनियरसँग बुझेँ, डाटामा सामान्य त्रुटि भएको रहेछ । यो ठूलो त्रुटि होइन।

त्यसो भए हिजो (शनिबार) दिएको जिपिएको रेन्जमा पनि धेरै फरक प-यो होइन ?
हामीले प्रिन्ट गरेर दिएको तथ्यांकमा फरक परेको छैन। वेबसाइटमा अपलोड गर्दा मात्र समस्या हो।

गल्ती गर्नेलाई कारबाही हुन्छ ?
यो ठूलो त्रुटि होइन, कारबाही के गर्नु!

रिजल्ट अपलोड गर्ने इन्जिनियर नसिव आचार्य भन्छन्: प्राविधिक त्रुटि भयो
यो वर्ष पहिलोपटक पनिकामा मैले रिजल्टको काम गरेको हो। हाम्रो वेबसाइटमा सिस्टम कम्पाटिबिलिटी नमिलेकाले रिजल्ट फरक पर्न गयो । हामीले जेनेरेट गरेको सिस्टममा इरर हुँदा नतिजामा फरक पर्न गयो। हाम्रो वेबसाइटमा पनि मिस्टेक भयो। एनटिसीमा अपलोड नहुँदै मिलाएर दियौँ, त्यसमा नतिजा ठीक आयो । रिजल्ट सार्वजनिक गर्ने अरू सबैलाई करेक्सन गरेका छौँ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन्: दोषीलाई कारबाही हुन्छ

राष्ट्रिय परीक्षा बोर्डले अधिकार प्रत्यायोजन गरेर परीक्षा नियन्त्रण कार्यालयले एसइईको परीक्षा सञ्चालन गरेको थियो। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सिस्टममा त्रुटि भएको विषयमा जानकारी पाएको बताए । ए र ए प्लस ल्याउने विद्यार्थीको नतिजामा समस्या रहेको प्रारम्भिक जानकारी पाएको उनले बताए। ९० अंक ल्याउने विद्यार्थीको ग्रेड ए प्लस हुनुपर्नेमा सिस्टमले ए ग्रेड देखाएको रिपोर्टिङ भएको पौडेलले बताए। पनिकाको त्रुटिले विद्यार्थीलाई असर परेको उनले बताए। ‘पहिले छानबिन गर्छौँ, त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ पौडेलले भने। व्यक्तिका कारण गल्ती भएको पाइएमा कारबाही हुने उनले बताए। नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.